बाढी प्रभावित क्षेत्रमा उद्धार तीव्र, एकैदिन १०९ जनाको हवाई उद्धार

भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा हालै आएको विनाशकारी बाढी तथा पहिरोपछि नेपाली सेनाले हवाई तथा जमिनी उद्धारसँगै जलविद्युत् आयोजनाका सुरुङभित्रको जटिल खोजी कार्यलाई तीव्र बनाएको छ। बाढीका कारण सडक सम्पर्कबाट विच्छेद भएका तथा उच्च जोखिममा परेका क्षेत्रबाट प्रभावितको उद्धार, बेपत्ताको खोजी, शव व्यवस्थापन र स्वास्थ्य उपचारलाई एकीकृत रूपमा अघि बढाइएको हो।

भदौ १५ गते साँझ ७ बजेसम्म प्राप्त विवरणअनुसार नेपाली सेनाको हेलिकप्टरमार्फत एक जना जर्मन नागरिकसहित एकैदिन १०९ जनाको सकुशल हवाई उद्धार गरिएको छ। बाढी तथा पहिरोका कारण आवागमन अवरुद्ध भएका र जोखिममा परेका स्थानमा रहेका उनीहरूलाई हेलिकप्टरमार्फत सुरक्षित क्षेत्रमा स्थानान्तरण गरिएको हो।

यसैबीच, बाढीका कारण प्रभावित विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र थुनिएका वा बेपत्ता भएकाहरूको खोजीलाई पनि उच्च प्राथमिकताका साथ अघि बढाइएको छ। नेपाली सेना र विदेशी विज्ञसहितको संयुक्त टोली जोखिमपूर्ण सुरुङभित्र प्रवेश गरी खोज तथा उद्धारमा जुटेको छ।

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङको मुख फेला पारिएको छ। सुरुङभित्र हावा पुर्‍याउन कम्प्रेसर प्रयोग भइरहेको छ भने जमेको पानी बाहिर निकाल्ने काम पनि जारी छ। सुरुङको पछाडितर्फबाट वैकल्पिक मार्ग निर्माणका लागि तीन वटा एक्स्काभेटर प्रयोग गरी करिब १५ मिटर भाग खोलिएको छ।

त्रिशूली–३ ‘बी’ आयोजनामा पनि विज्ञ टोली र एक्स्काभेटरको सहयोगमा खोज तथा उद्धार कार्य भइरहेको छ। चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र विदेशी विज्ञसहितको टोली करिब ३५ मिटर भित्रसम्म पुगेको छ र थप बाटो सफा गर्ने काम जारी छ।

त्यसैगरी, अपर त्रिशूली–१ आयोजनामा मैलुङतर्फ करिब २०० मिटर र हाँकूतर्फ करिब ३०० मिटरसम्म पुगेर टोलीले सघन खोजी गरेको छ। रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा संयुक्त टोली करिब २५० मिटर भित्रसम्म पुगेर बन्द भएको भागसम्म पुग्न सफल भएको छ। लाङटाङ जलविद्युत् आयोजनाको सुरुङमा ६५ मिटरभित्र पुगेको टोलीले एक थान शवसमेत संकलन गरी बाहिर निकालेको छ।

सुरुङभित्रको खोजी मात्र नभई नेपाली सेनाले बाढी प्रभावित क्षेत्रका जङ्गल, डाँडा, खोला किनार र बस्तीहरूमा पैदल गस्तीसमेत तीव्र पारेको छ। गस्तीका क्रममा जोखिममा रहेका स्थानीयको अवस्थाबारे जानकारी लिने, उद्धार आवश्यक पर्ने व्यक्तिको पहिचान गर्ने र सम्भावित जोखिमबारे स्थानीयलाई सचेत गराउने काम भइरहेको छ।

खोज तथा उद्धारकै क्रममा टिमुरे क्षेत्रमा नेपाली अक्षर भएका तीन वटा र चिनियाँ अक्षर भएका दुई वटा गरी पाँच वटा सेफ फेला परेका छन्। फेला परेका ती सेफलाई कानुनी प्रक्रिया पूरा गरी सशस्त्र प्रहरी बल नेपाललाई भरपाईसहित बुझाइएको नेपाली सेनाले जनाएको छ।

बाढीपछि स्वास्थ्य जोखिमसमेत बढेकाले नेपाली सेनाले त्रिशूली र धुन्चेमा सञ्चालन गरेका आपत्कालीन उपचार केन्द्रबाट प्रभावितलाई स्वास्थ्य सेवा दिइरहेको छ। भदौ १५ गते मात्रै ती उपचार केन्द्रबाट १६५ जना प्रभावितले उपचार सेवा लिएका छन्।

उद्धार, खोजी, राहत, शव व्यवस्थापन तथा सडक खुलाउने कार्यलाई प्रभावकारी बनाउन नेपाली सेनाले ठूलो संख्यामा जनशक्ति परिचालन गरेको छ। रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन हुँदै नवलपरासी (बर्दघाट सुस्ता पूर्व) सम्मका बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाका ८ हजार ९ सयभन्दा बढी जनशक्ति प्रत्यक्ष रूपमा परिचालित छन्।

बाढीबाट क्षतिग्रस्त तथा अवरुद्ध सडक र राजमार्ग खुलाउने, जोखिममा परेका नागरिकको उद्धार गर्ने, बेपत्ताको खोजी गर्ने, शव तथा शरीरका अंगको व्यवस्थापन गर्ने र घाइते तथा प्रभावितलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउने काममा सुरक्षा फौज एकीकृत रूपमा खटिएको छ। विपद्को प्रभाव अझै कायम रहेकाले नेपाली सेनाले हवाई तथा जमिनी उद्धारसँगै सुरुङभित्रको खोजीलाई पनि निरन्तरता दिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार