रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावितको उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका गरी १५ वटा हेलिकप्टर परिचालन गरिएको छ।
१८. ३० बजेसम्मको विवरणअनुसार उद्धार कार्यमा नेपाली सेनाका ७ तथा निजी क्षेत्रका ८ गरी जम्मा १५ वटा हेलिकप्टर परिचालन भएका छन्। नेपाली सेनाका हवाई साधनमार्फत हालसम्म ९७ जनाको उद्धार गरिएको छ।
बाढीबाट घाइते भएकाहरूको उपचारका लागि वीरेन्द्र अस्पतालबाट खटिएको चिकित्सकीय टोलीले त्रिशूलीस्थित नं. १ सैन्य तालिम केन्द्रमा आपत्कालीन उपचार सेवा प्रदान गरिरहेको छ।
यसैगरी, विपद् व्यवस्थापनमा प्रयोग हुने ‘भिष्म क्युब’ नामक १ वटा चलायमान अस्पतालको सामग्रीसहित आवश्यक औषधि, चिकित्सकीय सामग्री तथा उपकरणहरू त्रिशूलीतर्फ पठाउने व्यवस्था मिलाइएको नेपाली सेनाले जनाएको छ।
उद्धार तथा उपचार कार्यलाई थप प्रभावकारी बनाउन आवश्यक जनशक्ति, हवाई साधन र स्वास्थ्य सामग्री परिचालन गरिएको छ। प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई प्राथमिकताका साथ निरन्तरता दिइएको छ।







प्रतिक्रिया