नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालय विराटनगरले बीमा सेवालाई थप व्यवस्थित, पारदर्शी र बीमितमैत्री बनाउन जीवन तथा निर्जीवन बीमा कम्पनीका प्रदेश प्रमुख तथा प्रतिनिधिलाई निर्देशन दिएको छ।
कोशी प्रदेश कार्यालयमा शुक्रबार आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा नवनियुक्त प्रदेश प्रमुख राजेन्द्र महर्जनलाई स्वागत तथा बधाई दिँदै प्रदेशमा बीमा व्यवसायको अवस्था, आगामी आर्थिक वर्षका कार्ययोजना, देखिएका चुनौती तथा सेवा सुधारका विषयमा छलफल गरिएको हो। कार्यक्रममा कोशी प्रदेशमा कार्यरत जीवन तथा निर्जीवन बीमा कम्पनीका प्रदेश प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै महर्जनले बीमा क्षेत्रमा देखिएका समस्या समाधानका लागि बीमा अभिकर्तालाई थप जिम्मेवार, व्यावसायिक र उत्तरदायी बनाउनुपर्नेमा जोड दिए। बीमितसँग प्रत्यक्ष सम्पर्कमा रहेर बीमा योजना बिक्री गर्ने अभिकर्ताले बीमालेखका सर्त, समेटिएका जोखिम, बीमाको दायरा, दाबी प्रक्रिया, बीमालेख निष्क्रिय हुने अवस्था तथा समर्पणसम्बन्धी व्यवस्थाबारे बीमितलाई स्पष्ट र पूर्ण जानकारी दिनुपर्ने उनले बताए।
बीमा क्षेत्रमा देखिँदै आएको गलत वा अपूर्ण जानकारीका आधारमा बीमा बिक्री गर्ने प्रवृत्ति न्यूनीकरण गर्न अभिकर्तालाई थप जिम्मेवार बनाउने व्यवस्था आवश्यक रहेको महर्जनले बताए। यसका लागि बीमा गर्दा बीमितलाई आवश्यक सूचना उपलब्ध गराइएको पुष्टि गर्ने घोषणापत्रको व्यवस्था विकास गरी कार्यान्वयनमा ल्याउनुपर्ने उनको भनाइ छ। बीमितले बीमालेखका मुख्य सर्त र जोखिमबारे आवश्यक जानकारी प्राप्त गरेको सुनिश्चित भएपछि मात्र बीमालेख जारी गर्ने प्रणाली विकास गर्नुपर्ने उनले बताए।
गलत बिक्रीका कारण पछि दाबी भुक्तानीका क्रममा विवाद तथा समस्या उत्पन्न हुने गरेको उल्लेख गर्दै महर्जनले अभिकर्तालाई केवल बीमा योजना बिक्रीमा केन्द्रित नगरी व्यावसायिक आचरण, जोखिम पहिचान, बीमित परामर्श तथा बीमालेखका सर्तबारे नियमित प्रशिक्षण दिन बीमा कम्पनीलाई निर्देशन दिए।
निर्जीवन बीमातर्फ बैंकमार्फत जारी हुने बीमालेखको विवरण र त्यसको उपयुक्ततामाथि पनि प्रभावकारी समीक्षा गर्न उनले आग्रह गरे। विशेषगरी सम्पत्ति तथा मौज्दात बीमामा कच्चा पदार्थ, अर्धतयारी वस्तु तथा तयारी वस्तुको विवरण स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेमा उनले जोड दिए।
बीमालेखमा उल्लेख गरिएको विवरण र वास्तविक जोखिमबीच फरक भएमा भविष्यमा दाबीका क्रममा विवाद उत्पन्न हुनसक्ने भएकाले बीमालेख जारी गर्नुअघि आवश्यक विवरण, जोखिमको अवस्था तथा बीमितको घोषणाको पूर्णता जाँच गर्न कम्पनीका प्रदेश प्रमुख तथा कर्मचारीलाई उनले निर्देशन दिए।
महर्जनले बीमा व्यवसायलाई स्वच्छ, प्रतिस्पर्धी र विश्वासयोग्य बनाउन बीमितलाई पर्याप्त र सही सूचना उपलब्ध गराउने, अभिकर्तालाई उत्तरदायी बनाउने तथा कर्मचारीको क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राख्नुपर्ने बताए। बीमितको विश्वास कायम गर्न सेवा प्रवाहमा पारदर्शिता, जवाफदेहिता र व्यावसायिकता आवश्यक रहेको उनको भनाइ थियो।
त्यसैगरी प्राधिकरणको प्रदेश कार्यालय, बीमा कम्पनीका शाखा, अभिकर्ता तथा सम्बन्धित सरोकारवालाबीचको समन्वयलाई थप प्रभावकारी बनाउनुपर्नेमा पनि महर्जनले जोड दिए। उनले बीमा क्षेत्रको गुणस्तर सुधारसँगै बीमितको अधिकार संरक्षण र दाबी प्रक्रियालाई सहज बनाउने दिशामा कम्पनीहरूले थप सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताए।
प्राधिकरणले बीमा बजारलाई विस्तार मात्र नभई गुणस्तरीय र विश्वसनीय बनाउने उद्देश्यले सेवा प्रवाहदेखि बीमा बिक्री प्रक्रियासम्म सुधार आवश्यक रहेको जनाएको छ। पछिल्लो समय बीमा व्यवसायमा देखिएका गुनासा तथा विवाद न्यूनीकरण गर्दै बीमितको विश्वास बढाउन अभिकर्ता, कम्पनी र नियामक निकायबीच थप जिम्मेवार र समन्वयात्मक भूमिका आवश्यक रहेकोमा छलफलमा जोड दिइएको छ।











प्रतिक्रिया