भृकुटीमण्डपमा भदौ १९ देखि अन्तर्राष्ट्रिय विद्युत तथा इलेक्ट्रोनिक्स प्रदर्शनी हुँदै

काठमाडौं । नेपालमा विद्युत्, ऊर्जा, उपभोक्ता इलेक्ट्रोनिक्स तथा होम अप्लायन्सेस क्षेत्रको प्रविधि, उत्पादन र व्यावसायिक सम्भावनालाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यले ‘नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी २०८३’ आयोजना हुने भएको छ।

मिडिया स्पेस सोलुसन्स प्रालि, एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि तथा फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा प्रदर्शनी आगामी भदौ १९ देखि २१ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा सञ्चालन हुनेछ।

आयोजकका अनुसार प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी कम्पनीका स्टल रहनेछन्। विद्युत्, ऊर्जा, इलेक्ट्रोनिक्स तथा घरेलु उपकरण क्षेत्रमा विकसित भइरहेका नयाँ प्रविधि, उत्पादन र सेवालाई प्रदर्शनीमार्फत व्यवसायी तथा उपभोक्तामाझ पुर्‍याउने लक्ष्य राखिएको छ।

नेपालमा जलविद्युत् उत्पादन बढ्दै गएको अवस्थामा उत्पादित विद्युत्को प्रभावकारी उपयोग, ऊर्जा दक्षता प्रवर्द्धन र विद्युतीय पूर्वाधारको विस्तारमा प्रदर्शनीले योगदान पुर्‍याउने आयोजकको अपेक्षा छ। साथै उद्योगी, उत्पादक, आयातकर्ता, वितरक तथा सेवा प्रदायकलाई एउटै व्यावसायिक मञ्चमा ल्याएर नयाँ व्यापारिक अवसर र सहकार्यको वातावरण निर्माण गर्ने उद्देश्य पनि प्रदर्शनीको रहेको छ।

प्रदर्शनीमा ट्रान्समिसन तथा डिस्ट्रिब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण प्रणाली, हाउस वायरिङ सामग्री, वायर तथा केबल, कन्डक्टर, अत्याधुनिक स्विच, एलईडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरण, कार्यालय प्रविधि, सञ्चार तथा सूचना प्रविधि, वैकल्पिक ऊर्जा प्रणालीलगायतका उत्पादन तथा प्रविधि प्रदर्शन गरिनेछ।

प्रदर्शनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उद्योगी, व्यवसायी, उद्यमी, उत्पादक, वितरक, प्राविधिक तथा अन्य सरोकारवालालाई एउटै स्थानमा भेटघाट तथा ज्ञान र प्रविधि आदानप्रदान गर्ने अवसर प्रदान गर्ने आयोजकले जनाएको छ। यसबाट विद्युत् तथा विद्युतीय सामग्रीसम्बन्धी उद्योगको प्रवर्द्धन, व्यापार विस्तार, प्रविधि हस्तान्तरण तथा दीर्घकालीन व्यावसायिक सहकार्यलाई थप बल पुग्ने विश्वास गरिएको छ।

आयोजकका अनुसार प्रदर्शनीमा आर्किटेक्ट, इलेक्ट्रिकल इन्जिनियर, इन्टेरियर डिजाइनर, प्राविधिक, विद्युतीय व्यवसायी, उद्योगी, सरकारी अधिकारी, विद्यार्थी, सञ्चारकर्मी तथा सर्वसाधारणसहित ३० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ। प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

प्रदर्शनीलाई नेपाल चेम्बर अफ कमर्स, नेपाल इन्जिनियर्स एसोसिएसन, सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फर्म्स, सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपाल (सीन) तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) लगायतका संस्थाले सहयोग गर्नेछन्।

आयोजकले प्रदर्शनीले नेपालको ऊर्जा, विद्युत् तथा उपभोक्ता इलेक्ट्रोनिक्स उद्योगको व्यावसायिक विस्तारसँगै लगानी प्रवर्द्धन, प्रविधि हस्तान्तरण र अन्तर्राष्ट्रिय सहकार्यका लागि महत्वपूर्ण आधार तयार गर्ने अपेक्षा गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार