काठमाडौं । कर्णाली प्रदेशको कालिकोटमा निर्माण हुने ४२० मेगावाट क्षमताको तिला–२ जलविद्युत् आयोजनाका लागि ५२ अर्ब ५५ करोड रुपैयाँ ऋण लगानी जुटेको छ। ऊर्जा तिला पावर कम्पनीद्वारा प्रवर्द्धित आयोजनाका लागि एभरेस्ट बैंकको अगुवाइमा विभिन्न बैंक तथा वित्तीय संस्थासँग वित्तीय व्यवस्थापन सम्झौता भएको हो।
आयोजनाको अनुमानित कुल लागत ७० अर्ब ७ करोड रुपैयाँ रहेको छ। त्यसमध्ये ७५ प्रतिशत अर्थात् ५२ अर्ब ५५ करोड रुपैयाँ ऋणबाट र बाँकी २५ प्रतिशत अर्थात् १७ अर्ब ५२ करोड रुपैयाँ स्वपुँजीबाट जुटाइनेछ।
वित्तीय व्यवस्थापन सम्झौताअनुसार एभरेस्ट बैंक अगुवा बैंक तथा सानिमा बैंक सहअगुवा बैंकका रूपमा सहभागी छन्। प्राइम कमर्सियल बैंक, एनआईसी एसिया बैंक र ग्लोबल आईएमई बैंक को–लिड बैंक रहेका छन्।
त्यस्तै सिद्धार्थ बैंक, नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, मुक्तिनाथ विकास बैंक र कामना सेवा विकास बैंकले पनि आयोजनामा ऋण लगानी गर्नेछन्।
६ घण्टा पिकिङ गर्न सकिने
तिला–२ अर्धजलाशययुक्त (पीआरओआर) प्रकृतिको आयोजना हो। आयोजनाअन्तर्गत तिलागुफा नगरपालिकाको धनाडामा बाँध र खाँडाचक्र नगरपालिकाको सेराबाडामा विद्युत् गृह निर्माण गरिनेछ।
आयोजनालाई दैनिक ६ घण्टासम्म पिकिङ गर्न सकिने गरी विकास गर्न लागिएको कम्पनीले जनाएको छ। विशेषगरी सुक्खायाममा विद्युत्को माग उच्च हुने समयमा पिकिङमार्फत आपूर्ति बढाउन आयोजनाले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
कम्पनीका अनुसार आयोजनाले विद्युत् विकास विभागबाट २०७५ भदौ ७ गते विद्युत् उत्पादन अनुमति प्राप्त गरिसकेको छ। नेपाल विद्युत् प्राधिकरणसँग २०८१ कात्तिक ७ गते २९६.७४ मेगावाट क्षमताका लागि विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) समेत सम्पन्न भइसकेको छ।
आयोजना निर्माण सुरु भएको चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। निर्माणका लागि आवश्यक जग्गा अधिग्रहणलगायतका पूर्वतयारीका काम सम्पन्न भइसकेको कम्पनीले जनाएको छ।
वार्षिक २३१८ गिगावाट आवर विद्युत् उत्पादन हुने
आयोजना सञ्चालनमा आएपछि वार्षिक २ हजार ३१८.७९ गिगावाट आवर विद्युत् उत्पादन हुने अनुमान गरिएको छ।
त्यसमध्ये सुक्खायामको पिक समयमा ४५१.०५ गिगावाट आवर र अफ–पिक समयमा २०५.४५ गिगावाट आवर विद्युत् उत्पादन हुने बताइएको छ। वर्षायाममा भने १ हजार ६६२.२९ गिगावाट आवर विद्युत् उत्पादन गर्ने लक्ष्य छ।
आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ। दैनिक ६ घण्टासम्म पिकिङ गर्न सकिने भएकाले विशेषगरी सुक्खायाममा उच्च मागको समयमा विद्युत् आपूर्ति व्यवस्थापनमा आयोजनाले योगदान पुर्याउने अपेक्षा गरिएको छ।
स्थानीय र सर्वसाधारणलाई २० प्रतिशत सेयर
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा सर्वसाधारणका लागि आयोजनाको २० प्रतिशत सेयर छुट्याएको छ। आयोजनामा स्ट्रिम इन्भेस्टमेन्ट, ऊर्जा इम्प्याक्ट फन्ड, रविन्स यूएसएसहित संस्थागत तथा व्यक्तिगत लगानीकर्ताको लगानी रहेको छ।
५२ अर्ब ५५ करोड रुपैयाँको ऋण लगानी सुनिश्चित भएसँगै आयोजनाको निर्माण अघि बढाउन आवश्यक प्रमुख वित्तीय चरण पूरा भएको कम्पनीले जनाएको छ। कर्णालीमा ठूलो क्षमताको जलविद्युत् आयोजना निर्माण अघि बढेसँगै यसले राष्ट्रिय विद्युत् उत्पादन र सुक्खायामको माग व्यवस्थापनमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।











प्रतिक्रिया