भदौ ९ देखि नाडा अटो शो, दुई लाख दर्शक आउने अपेक्षा

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आफ्नो ५०औँ वार्षिकोत्सवको अवसरमा १८औँ नाडा अटो शो २०२६ आयोजना गर्ने भएको छ। ‘स्वर्ण उत्सव संस्करण’का रूपमा आयोजना हुन लागेको अटो शो आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ।

छ दिनसम्म चल्ने प्रदर्शनीको शीर्ष प्रायोजक एचपी लुब्रिकेन्ट्स रहेको छ। नाडाका अनुसार अटो शोमा नेपालको तीव्र रूपमा परिवर्तन भइरहेको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रमा आएका नयाँ सवारीसाधन, प्रविधि, उत्पादन तथा सेवाहरू एउटै स्थानमा प्रदर्शन गरिनेछ।

करिब तीन लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा साना–ठूला गरी २०० भन्दा बढी स्टल रहनेछन्। प्रदर्शनीमा २३ ब्रान्डका प्यासेन्जर कार, १७ ब्रान्डका लाइट कमर्सियल भेहिकल र १३ ब्रान्डका दुईपाङ्ग्रे सवारीसाधन सहभागी हुनेछन्।

त्यस्तै, १० वटा वित्तीय तथा बीमा सेवा प्रदायक र ७० वटा अटोमोटिभ पार्टपुर्जा, एसेसरिज, टायर, लुब्रिकेन्ट, ग्यारेज उपकरणलगायतका उत्पादन तथा सेवाका स्टल रहनेछन्।

स्वदेशी उत्पादनलाई प्राथमिकता
नाडाका अध्यक्ष सुरेन्द्र उप्रेतीले यस वर्षको अटो शो अन्तर्राष्ट्रिय ब्रान्ड र नयाँ प्रविधिको प्रदर्शनीमा मात्र सीमित नरही नेपालमा विकास हुँदै गएको अटोमोबाइल उद्योगको सम्भावना देखाउने मञ्च बन्ने बताए।

उनका अनुसार नेपालमै उत्पादन तथा एसेम्बल भएका सवारीसाधनसँगै टायर, लुब्रिकेन्ट, ब्याट्री, स्पेयर पार्ट्स र हेल्मेटलगायत स्वदेशी उत्पादनलाई विशेष प्राथमिकताका साथ प्रदर्शन गरिनेछ।

नेपालको अटोमोबाइल क्षेत्र आयातमा मात्र निर्भर नरही क्रमशः उत्पादन र एसेम्बलीतर्फ अघि बढिरहेको उल्लेख गर्दै उप्रेतीले आगामी दिनमा नेपालमै अटोमोबाइल उत्पादनको आधार निर्माण गर्न सकिने सम्भावना रहेको बताए।

सुस्त अटो बजार चलायमान हुने अपेक्षा
नाडाले अटो शोले पछिल्लो समय सुस्त रहेको अटोमोबाइल बजारलाई चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेको छ। प्रदर्शनीमा विशेषगरी विद्युतीय सवारीसाधन, दिगो मोबिलिटी तथा विश्वस्तरीय नयाँ प्रविधि र उत्पादनलाई प्राथमिकताका साथ प्रस्तुत गरिनेछ।

यस वर्ष विभिन्न ब्रान्डका नयाँ मोडल सार्वजनिक हुनुका साथै भविष्यको मोबिलिटी प्रविधिबारे जानकारी दिन ह्युमनोइड रोबोट र क्वाड्रुपेड रोबोट समेत प्रदर्शनीमा राखिने नाडाले जनाएको छ।

‘मेड इन नेपाल’ र ‘मेड फर नेपाल’ अवधारणाअन्तर्गत स्वदेशमै उत्पादित तथा एसेम्बल भएका सवारीसाधन र अटो कम्पोनेन्टको प्रवर्द्धन गरिनेछ। स्मार्ट मोबिलिटी, दिगो विकास तथा कनेक्टिभिटीलगायत विषयमा सिम्पोसियमसमेत आयोजना गरिनेछ।

अवलोकनकर्ताको सहजताका लागि दुईपाङ्ग्रे, चारपाङ्ग्रे, वित्तीय संस्था, अटो कम्पोनेन्ट तथा ग्यारेज उपकरणका छुट्टाछुट्टै जोन निर्माण गरिनेछ।

टिकट खल्ती एपमार्फत अग्रिम खरिद गर्न सकिनेछ भने निश्चित अवधिका लागि ५० प्रतिशत क्यासब्याकको व्यवस्था गरिएको नाडाले जनाएको छ। प्रदर्शनीस्थलमा मिडिया डेस्क, ट्राफिक सूचना डेस्क, क्याफेटेरिया, आपतकालीन स्वास्थ्य टोली, सीसीटीभी निगरानी तथा आगो नियन्त्रणको व्यवस्था रहनेछ। प्रदर्शनीलाई ह्वीलचेयरमैत्रीसमेत बनाइनेछ।

पार्किङका लागि नेपाल पुलिस क्लबको ब्लु पेभिलियनस्थित भूमिगत पार्किङ तथा सिंहदरबारस्थित नेशनल ट्रेडिङ परिसरमा व्यवस्था मिलाउन पहल भइरहेको नाडाले जनाएको छ।

छ दिनसम्म चल्ने १८औँ नाडा अटो शोमा करिब दुई लाख अवलोकनकर्ता सहभागी हुने अपेक्षा नाडाले गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार