मनसुनमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प, तीन दिनसम्म विभिन्न छुटको सुविधा

सीजी होल्डिङ्सको अटोमोबाइल डिभिजन तथा नेपालमा सुजुकी गाडीको अधिकृत वितरक सीजी मोटोकर्पले मनसुनलाई लक्षित गर्दै देशभरका सुजुकी सर्भिस सेन्टरमा विशेष ‘मनसुन निःशुल्क सर्भिस क्याम्प’ आयोजना गर्ने भएको छ।

कम्पनीका अनुसार साउन २७ देखि २९ गतेसम्म सञ्चालन हुने क्याम्पमा सुजुकीका ग्राहकले आफ्ना सवारीसाधनको विभिन्न प्रणाली तथा पार्टपुर्जाको निःशुल्क जाँच गराउन सक्नेछन्। मनसुनी वर्षाका कारण सवारीसाधनमा थप जोखिम उत्पन्न हुने भएकाले समयमै मर्मतसम्भार गरी सुरक्षित यात्रा सुनिश्चित गर्ने उद्देश्यले क्याम्प आयोजना गरिएको हो।

क्याम्पअन्तर्गत ब्रेक, टायर, वाइपर, इन्जिन तथा इलेक्ट्रिकल प्रणालीको विशेष जाँच गरिनेछ। साथै एसी र ब्याट्रीको निःशुल्क जाँच तथा सवारीसाधनको सामान्य स्वास्थ्य परीक्षणसमेत गरिने कम्पनीले जनाएको छ।

क्याम्प अवधिभर पार्ट्स तथा लुब्रिकेन्टमा १० प्रतिशत, लेबरमा २० प्रतिशत र एक्सेसरिजमा १५ प्रतिशत छुट उपलब्ध हुनेछ। ग्राहकलाई कार केयर तथा वर्षायाममा अपनाउनुपर्ने सावधानीबारे निःशुल्क जानकारी तथा तालिमसमेत दिइनेछ।

सीजी मोटोकर्पका वरिष्ठ प्रबन्धक सरोज खड्काले मनसुन सवारीसाधनका लागि चुनौतीपूर्ण समय भएकाले ग्राहकलाई नियमित मर्मतसम्भार र सुरक्षित सवारी सञ्चालनप्रति सचेत गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको बताए।

क्याम्पका क्रममा तीन जना भाग्यशाली ग्राहकलाई आकर्षक उपहारसमेत प्रदान गरिने कम्पनीले जनाएको छ।

देशभर रहेका सबै अधिकृत सुजुकी सर्भिस सेन्टरमा सञ्चालन हुने क्याम्पमा सुजुकीका ग्राहकले साउन २७ देखि २९ गतेसम्म आफ्नो नजिकको सर्भिस सेन्टरमा गई सेवा लिन सक्नेछन्।

प्रतिक्रिया

सम्बन्धित समाचार