काठमाडौं । नेपालमा उत्पादन हुने विद्युत्को आन्तरिक खपतसँगै भारतलगायत बाह्य बजार विस्तार गर्न निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्नेमा ऊर्जा क्षेत्रका विज्ञहरुले जोड दिएका छन्। बढ्दो विद्युत् उत्पादनलाई एउटै निकायमार्फत मात्र व्यापार गर्न कठिन हुने भन्दै उनीहरूले प्रतिस्पर्धात्मक विद्युत् बजार निर्माणका लागि निजी क्षेत्रको प्रवेश आवश्यक रहेको बताएका हुन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले ललितपुरमा आयोजना गरेको ‘नेपाल–भारत ऊर्जा व्यापारः निजी क्षेत्रका लागि अबको बाटो’ विषयक छलफलमा सहभागी वक्ताहरूले निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिन नयाँ कानुनको प्रतीक्षा गर्न आवश्यक नरहेको धारणा राखे। उनीहरूका अनुसार विद्यमान विद्युत् ऐन, २०४९ मै रहेको कानुनी व्यवस्थाका आधारमा पनि निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमतिपत्र दिन सकिन्छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपालको जलस्रोतलाई अधिकतम उपयोग गर्दै विद्युत् उत्पादन वृद्धि र आर्थिक समृद्धिसँग जोड्ने सरकारको प्राथमिकता रहेको बताए। यसका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने सरकारको नीति रहेको उनको भनाइ छ।
मन्त्री श्रेष्ठले गत आर्थिक वर्ष विद्युत् निर्यातबाट नेपालले २९ अर्ब ३२ करोड रुपैयाँ आम्दानी गरेको जानकारी दिए। उनका अनुसार विद्युत् व्यापारबाट १८ अर्ब रुपैयाँभन्दा बढी खुद बचत भएको छ। पूर्वानुमानयोग्य नीति, प्रभावकारी नियमन, निजी क्षेत्रको सहभागिता र ऊर्जा कूटनीतिलाई प्रभावकारी बनाउँदै नेपाललाई वर्षभरि विश्वसनीय विद्युत् निर्यातकर्ता बनाउने सरकारको लक्ष्य रहेको उनले बताए।
पूर्वऊर्जा सचिव अनुपकुमार उपाध्यायले निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउने विषयमा विगतमा कानुन तर्जुमा भए पनि सरकार परिवर्तनका कारण त्यसलाई कार्यान्वयनमा लैजान नसकिएको बताए।
नेपाल विद्युत् प्राधिकरणका पूर्वउपकार्यकारी निर्देशक प्रबल अधिकारीले नयाँ कानुन नआएसम्म निजी क्षेत्रलाई विद्युत् व्यापारबाट रोकिराख्नुपर्ने अवस्था नरहेको बताए। विद्यमान ऐनमै उत्पादित विद्युत् बिक्री तथा विद्युत् आयातसम्बन्धी व्यवस्था रहेकाले सोही कानुनी आधारमा निजी क्षेत्रलाई व्यापारको अनुमतिपत्र दिन सकिने उनको तर्क छ।
विद्युत् नियमन आयोगका अध्यक्ष रामप्रसाद धितालले विद्युत् उत्पादकले आफ्नै उत्पादनका लागि ग्राहक खोज्न सक्ने व्यवस्था समेटिएको खुला पहुँचसम्बन्धी निर्देशिका ल्याउने तयारी भइरहेको जानकारी दिए। यस्तो व्यवस्थाले उत्पादक र ग्राहकबीच प्रत्यक्ष कारोबारको सम्भावना बढाउने अपेक्षा गरिएको छ।
इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेशले ऊर्जा क्षेत्रमा नयाँ अवसर सिर्जना गर्नुका साथै लगानी र बजार विस्तारमा समेत योगदान पुग्ने बताए। इप्पानका पूर्वउपाध्यक्ष आशिष गर्गले पनि निजी क्षेत्र विद्युत् खरिद तथा बिक्री दुवै क्षेत्रमा सक्रिय हुन तयार रहेको धारणा राखे।
नेपालको विद्युत् उत्पादन क्षमता निरन्तर बढिरहेका बेला उत्पादित बिजुलीको बजार सुनिश्चित गर्नु ऊर्जा क्षेत्रको प्रमुख चुनौती बन्दै गएको छ। आन्तरिक खपत बढाउनुका साथै भारत तथा अन्य सम्भावित अन्तर्राष्ट्रिय बजारमा विद्युत् बिक्री विस्तार गर्न निजी क्षेत्रको सहभागिता र प्रतिस्पर्धात्मक बजार निर्माणलाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।











प्रतिक्रिया