१ करोड १४ लाखमै डोङफेङको विद्युतीय बस: एक पटकको चार्जमा ३५० किमिसम्म गुड्ने

काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाइमा अटो एक्स्पो’ मा डोङफेङ (DONGFENG) का दुई नयाँ विद्युतीय बस सार्वजनिक गरिएको छ। हिमालयन अर्गनाइजेसनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको बहुप्रतिष्ठित सवारी उत्पादक कम्पनी डोङफेङ युनान भेहिकलद्वारा निर्मित यी बसहरू नेपाली बजारमा भित्र्याएको हो।

कम्पनीले सार्वजनिक गरेका मोडलहरूमा ‘City EV’ र ‘Long Range EV’ रहेका छन्। City EV को मूल्य रु. १ करोड १४ लाख ५० हजार र Long Range EV को मूल्य रु. १ करोड २४ लाख ५० हजार तोकिएको छ। एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकका लागि कम्पनीले रु. ५ लाख छुट दिने घोषणा गरेको छ। बजारमा उपलब्ध अन्य प्रतिस्पर्धी बसहरूको तुलनामा यी मोडलहरूको मूल्य निकै किफायती रहेको कम्पनीको दाबी छ।

प्राविधिक क्षमताका हिसाबले NEDC मानकतुसार City EV ले एकपटकको फुल चार्जमा २५० किलोमिटर र Long Range EV ले ३५० किलोमिटर रेन्ज प्रदान गर्छन्। डीसी फास्ट चार्जरको प्रयोग गरी यी बसहरू केवल ४५ मिनेटमै २० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। हाल २८ र ३० सिट क्षमतामा उपलब्ध यी बसहरू आरामदायी यात्राका लागि उपयुक्त मानिन्छन्। कम्पनीका अनुसार ४० र ५२ सिट क्षमताका ठूला विद्युतीय बसहरू पनि छिट्टै नेपाल ल्याइँदैछ।

नेपाल सरकारले ठूला विद्युतीय सवारीसाधनलाई प्राथमिकता दिने नीति लिएको र बजारमा पनि विद्युतीय बसको माग बढेकाले यी मोडलहरू भित्र्याइएको हो। आगामी दिनमा ठूला विद्युतीय स्कुल बसहरूसमेत भित्र्याउने तयारी गरेको कम्पनीले देशभर व्यावसायिक सञ्जाल विस्तारका लागि प्रमुख शहरहरूमा डिलरशिपको आवेदनसमेत खुला गरेको छ।

सन १९६९ मा स्थापित चिनियाँ सरकारी स्वामित्वको डोङफेङ कम्पनी विश्वका १०० भन्दा बढी देशहरूमा फैलिएको छ। विगतदेखि नै फोर्स मोटर्स र म्याक्सस (MAXUS) का सवारीसाधन बिक्री गर्दै आएको हिमालयन अर्गनाइजेसनले डोङफेङका ट्रक, कार र माइक्रोबसहरू पनि नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार