राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आजदेखि अटोमोबाइल क्षेत्रको बृहत् कुम्भमेला ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ सुरु भएको छ। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा सुरु भएको यो दोस्रो संस्करण आगामी साउन ३१ गतेसम्म चल्नेछ। दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्द्धन गर्ने मूल उद्देश्यका साथ सुरु भएको यस एक्स्पोले नेपाली अटोमोबाइल बजारको बदलिँदो तस्बिरलाई एकै ठाउँमा उतारेको छ।
यसपटकको एक्स्पोमा अवलोकनकर्ताका लागि नयाँ प्रविधि र आकर्षक मोडलहरूको विशेष जमघट देख्न सकिन्छ। गत वर्ष ४२ वटा ब्रान्ड सहभागी भएकोमा यस वर्ष ५५ वटा स्थापित तथा नयाँ अटोमोबाइल ब्रान्डहरू एउटै छानामुनि भेला भएका छन्। ५१ भन्दा बढी भव्य स्टलहरूमा दुईपांग्रे, तीनपांग्रे, चारपांग्रेदेखि कमर्सियल भेहिकलसम्म राखिएका छन्। विशेष गरी नेपाली सडकमा द्रुत गतिमा लोकप्रिय बनिरहेका विद्युतीय (EV) र हाइब्रिड सवारीसाधन नै एक्स्पोको मुख्य आकर्षण बनेका छन्।
भृकुटीमण्डप छिर्ने जोकोहीका लागि यसपटक ४० वटा नयाँ ब्रान्ड तथा मोडलहरूको पहिलो झलक हेर्न पाउने अवसर मिलेको छ। एक्स्पोमै बिवाइडी, निसान, टाटा, टोयोटा, हुन्डाई, किया र महिन्द्राजस्ता दिग्गज ब्रान्डसँगै फोर्थिङ, डोङफेङ, लिपमोटर र म्याक्सस जस्ता नयाँ प्रविधिसहितका ब्रान्डहरू प्रतिस्पर्धामा उत्रिएका छन्।
प्यारामाउन्ट मोटर्सले आठवटा नयाँ मोडल सार्वजनिक गर्दैछ, जसमा ‘होङ्ची गुओली’ गाडी अवलोकनकर्ताको आँखा तान्ने मुख्य केन्द्र बनेको छ। यस्तै, टोयोटाले दुई नयाँ मोडल सार्वजनिक गर्दै गाडी खरिदमा ३ लाखदेखि २१ लाख रुपैयाँसम्मको भारी छुट दिने घोषणा गरेर बजारलाई थप तताएको छ। दुईपांग्रेतर्फ टिभियस लगायतका ब्रान्डहरूले नयाँ मोटरसाइकल र स्कुटरका साथै बुकिङमा विशेष छुटको व्यवस्था गरेका छन्।
नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यका अनुसार पहिलो संस्करणको अभूतपूर्व सफलतापछि यसपटक एक्स्पोको दायरा र सहभागिता दुवै विस्तार गरिएको हो। यसलाई केवल गाडीको किनबेच र प्रदर्शनीमा मात्र सीमित नराखी अटो व्यवसायी, नयाँ प्रविधि र अटोप्रेमीहरूलाई जोड्ने साझा मञ्चको रूपमा अघि बढाइएको छ। गत वर्ष १ लाखभन्दा बढी दर्शकले अवलोकन गरेको यस मेलामा यसपालि त्योभन्दा अझ बढी सहभागिता रहने आयोजकको विश्वास छ। वर्षायामलाई मध्यनजर गर्दै बिजुली जाने समस्याबाट बच्न ठूला जेनेरेटरको ब्याकअप र अवलोकनकर्ताको सहजताका लागि दिशा-निर्देशन तथा पूर्वाधारको पूर्ण प्रबन्ध मिलाइएको छ।






प्रतिक्रिया