नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित सुस्ता गाउँपालिका–५ मा नारायणी नदीको कटान तीव्र बनेपछि बस्ती संरक्षणका लागि नेपाली सेनाको टोली रातभर परिचालन भएको छ।
गए राति (२०८३ साउन २२ गते) नारायणी नदीमा आएको बाढीका कारण कटान बढेर स्थानीय बस्ती जोखिममा परेलगत्तै नेपाली सेनाको गोरखदल गणबाट विपद् प्रतिकार्य तथा उद्धार टोली घटनास्थलमा खटिएको थियो।
रातको समयमा पनि निरन्तर खटिएको सेनाको टोलीले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको सक्रिय सहकार्यमा अस्थायी तटबन्ध निर्माण एवम् मर्मत सम्भार गरेको छ। नदीको कटान रोक्न बोरामा बालुवा-माटो भरेर तथा स्थानीयस्तरमा उपलब्ध रुखका हाँगाबिँगा प्रयोग गरी कटान प्रभावित क्षेत्रलाई सुरक्षित बनाइएको छ।
स्थानीय निकाय र विपद् व्यवस्थापन टोलीको संयुक्त प्रयासपछि नारायणी नदीको कटान नियन्त्रणमा आई तत्कालका लागि आसपासका बस्ती सम्भावित ठूलो क्षतिबाट जोगिएका छन्। जोखिम कायमै रहेकाले सुरक्षा निकायले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ भने प्राविधिक टोलीले तटबन्धको थप सुदृढीकरण र अनुगमन जारी राखेको छ।







प्रतिक्रिया