बीमा व्यवस्था र ट्राफिक जरिवानाको पुनरावलोकन गर्न ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँको आग्रह

काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले यातायात क्षेत्रका समस्या समाधानका लागि सरकारले बीमा व्यवस्था, ट्राफिक जरिवाना, सडक पूर्वाधार तथा सामाजिक सुरक्षा सम्बन्धी नीतिमा सुधार गर्नुपर्ने बताएका छन् ।

नारायणी यातायात व्यवसायी संघको ३७औँ वार्षिक साधारण सभा तथा १६औँ अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष बानियाँले नयाँ सरकारले सय दिन पूरा गरिसकेको अवस्थामा निजी क्षेत्रका समस्या सुन्न थालेको उल्लेख गर्दै महासंघले प्रधानमन्त्री कार्यालय र सम्बन्धित मन्त्रालयहरूमा यातायात क्षेत्रका प्रमुख समस्याहरू राखेको जानकारी दिए ।

उनले सवारी दुर्घटना बीमामा हाल कायम रहेको क्षतिपूर्ति सीमाले व्यवसायीलाई समस्या भएको बताए। दुर्घटनापछि बीमा दाबी प्रक्रिया र प्रहरी अनुसन्धान लामो हुँदा सवारी साधन अनावश्यक रूपमा रोकिने गरेको भन्दै क्षतिपूर्ति सम्बन्धी व्यवस्था स्पष्ट र व्यवहारिक बनाउनुपर्ने उनको माग छ । यदि सरकारले निश्चित रकमको क्षतिपूर्ति व्यवस्था कायम राख्ने हो भने दुर्घटनापछि २४ घण्टाभित्र अनुसन्धान सम्पन्न गरी सवारी साधन सञ्चालनका लागि जिम्मा लगाउने व्यवस्था हुनुपर्ने उनले बताए ।

अध्यक्ष बानियाँले हाल लागू गरिएको ट्राफिक जरिवाना अत्यधिक भएको भन्दै त्यसको पुनरावलोकन आवश्यक रहेको धारणा राखे । उनले नेपालमा सार्वजनिक सवारीसाधनको दुर्घटना दर तुलनात्मक रूपमा कम रहेको दाबी गर्दै अधिकांश दुर्घटनामा निजी सवारीसाधनको समेत भूमिका रहने भएकाले सबैलाई समान रूपमा कानुन लागू हुनुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार