नेपालमा डिजिटल प्रविधि र नवप्रवर्तनमा आधारित उद्यमशीलतालाई अन्तर्राष्ट्रिय स्तरसम्म विस्तार गर्ने उद्देश्यका साथ द ब्रिटिश कलेज (टिबिसी) र कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)बीच ‘स्टार्टअप वर्ल्ड कप नेपाल च्याप्टर २०२६’ आयोजना गर्न रणनीतिक साझेदारी भएको छ । सम्झौताअनुसार क्यान महासंघले प्रतियोगिताको ‘स्ट्राटेजिक अर्गनाइजिङ पार्टनर’का रूपमा भूमिका निर्वाह गर्नेछ ।
सम्झौतापत्रमा द कँडेल ग्रुप तथा द ब्रिटिश कलेजका ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजन कँडेल र क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले हस्ताक्षर गरेका छन् । दुवै संस्थाले यस सहकार्यबाट नेपालमा नवप्रवर्तनमा आधारित उद्यमशीलताको वातावरण बलियो बनाउँदै युवा स्टार्टअपहरूलाई अन्तर्राष्ट्रिय अवसरसँग जोड्ने विश्वास व्यक्त गरेका छन्।
सम्झौताअनुसार देशका विभिन्न प्रदेशमा स्टार्टअप प्रतियोगिताहरू सञ्चालन गरिनेछ भने नवप्रवर्तनकारी सोच भएका युवालाई उद्योगका अनुभवी व्यक्तित्व, सफल उद्यमी तथा प्राविधिक विज्ञसँग मेन्टरसिप र नेटवर्किङको अवसर प्रदान गरिने जनाइएको छ । त्यस्तै, सम्भावनायुक्त स्टार्टअपलाई स्वदेशी तथा विदेशी लगानीकर्तासँग जोड्न आवश्यक सहजीकरण पनि गरिनेछ ।
सम्झौतापछि बोल्दै ग्रुप सीईओ राजन कँडेलले नेपालको आर्थिक समृद्धिका लागि नवप्रवर्तन र उद्यमशीलता महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यस साझेदारीमार्फत नेपाली स्टार्टअपहरूले मेन्टरसिप, लगानी तथा अन्तर्राष्ट्रिय अवसर प्राप्त गर्ने बलियो राष्ट्रिय मञ्च निर्माण हुने बताए ।
त्यस्तै क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले पनि सूचना प्रविधि र नवप्रवर्तनको विकासमा महासंघले निरन्तर काम गर्दै आएको उल्लेख गर्दै यो सहकार्यले देशभरका प्रविधिमा आधारित उद्यमीलाई विश्व मञ्चमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर उपलब्ध गराउने धारणा राखे ।
विश्वव्यापी रूपमा पेगासस टेक भेन्चर्सद्वारा आयोजना हुने ‘स्टार्टअप वर्ल्ड कप’ ६० भन्दा बढी देशमा सञ्चालन हुँदै आएको प्रतिष्ठित प्रतिस्पर्धा हो । नेपाल च्याप्टरको विजेताले अमेरिकाको सिलिकन भ्यालीमा आयोजना हुने ग्लोबल ग्रान्ड फिनालेमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन् । साथै उत्कृष्ट स्टार्टअपले १० लाख अमेरिकी डलर बराबरको लगानी पुरस्कार प्राप्त गर्ने सम्भावना पनि रहनेछ ।
आयोजकका अनुसार यस कार्यक्रमले नेपाली युवाका सिर्जनशील सोचलाई व्यवसायमा रूपान्तरण गर्न, प्रविधिमा आधारित उद्यममार्फत रोजगारी सिर्जना गर्न तथा नेपालको डिजिटल अर्थतन्त्रलाई थप सुदृढ बनाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ । साथै नेपाली प्रविधि, सफ्टवेयर तथा युवा उद्यमीको क्षमता अन्तर्राष्ट्रिय बजारमा चिनाउन समेत यो प्रतियोगिता प्रभावकारी मञ्च बन्ने विश्वास गरिएको छ ।





प्रतिक्रिया