अर्थतन्त्र सुदृढीकरणका लागि युवा उद्यमीहरूलाई चेम्बरको प्रोत्साहन

काठमाडौँ– मुलुकको आर्थिक पुनरुत्थान, लगानी विस्तार र रोजगारी सिर्जनाका लागि युवा उद्यमशीलताको विकास अपरिहार्य रहेको सरोकारवालाहरूले बताएका छन् । नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको ‘नेपाल युथ चेम्बर’ द्वारा आयोजित युवा उद्यमशीलता विकाससम्बन्धी अन्तर्क्रिया तथा नयाँ सदस्य स्वागत कार्यक्रममा बोल्दै वक्ताहरूले अर्थतन्त्रलाई चलायमान बनाउन युवा शक्तिको भूमिका निर्णायक रहनेमा जोड दिएका हुन् ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले युवाहरूले सकारात्मक सोच, समन्वय र क्षमता अभिवृद्धिमा विशेष ध्यान दिनुपर्ने बताए । उनले विश्वव्यापी रूपमा बढ्दो हरित अर्थतन्त्रको अवधारणालाई आत्मसाथ गर्दै नयाँ विश्वको नेतृत्व लिन सक्षम जनशक्ति तयार हुनुपर्नेमा जोड दिए । उनले निजी क्षेत्रले युवामा गरेको लगानीले दीर्घकालीन रूपमा देशको अर्थतन्त्रलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

चेम्बरको हीरक जयन्ती मूल समारोह समितिका संयोजक तथा पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले नवीन सोच र नयाँ व्यावसायिक क्षेत्रको पहिचान गरी अघि बढ्न युवाहरूलाई आग्रह गरे । उनले विदेशका युथ चेम्बरहरूसँग समन्वय र सम्बन्ध विस्तारमार्फत प्रविधि, ज्ञान र व्यावसायिक अभ्यास आदानप्रदान गर्न सके व्यापार विस्तारमा ठूलो उपलब्धि हासिल गर्न सकिने बताए । नेपालको निजी क्षेत्रको पहिलो र गौरवशाली संस्थासँग जोडिनु युवा उद्यमीहरूका लागि अवसर भएको श्रेष्ठको भनाई छ ।

नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा रहेका सम्भावनायुक्त क्षेत्रहरूको पहिचान गरी नवप्रवर्तनसम्बन्धी नीतिगत अवसरहरूको अधिकतम उपयोग गर्न युवाहरूलाई सुझाए । सिर्जनशील सोचका साथ उद्यमशीलतामा लाग्दा नै अर्थतन्त्रमा नवीनता भित्रिने उनले बताए ।

नेपाल युथ चेम्बरका अध्यक्ष दिपेश रत्न तुलाधरले सफल उद्यमको यात्रा सशक्त विचार, सक्षम टोली र जिम्मेवार नेतृत्वबाट सुरु हुने बताए । उनले युवाका ऊर्जा र दूरदृष्टिलाई समाजले सम्मान गर्नुपर्नेमा जोड दिँदै युवा उद्यमीहरूको क्षमता अभिवृद्धि तथा व्यावसायिक नेटवर्क विस्तारका लागि संस्था निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा सहभागी युवा उद्यमीहरूले मुलुकमा देखिएको आर्थिक मन्दी, तरलता अभाव, लगानीको संकुचन, स्टार्टअप प्रवद्र्धन र सहुलियतपूर्ण कर्जाको विषयमा चिन्ता व्यक्त गरे । उनीहरूले उद्यमशीलतालाई प्रोत्साहन गर्ने स्पष्ट सरकारी नीति, सहज वित्तीय पहुँच र लगानीमैत्री वातावरण निर्माणका लागि नेतृत्वसँग आग्रह गरे ।

उक्त कार्यक्रममा नेपाल युथ चेम्बरका उपाध्यक्ष कश्यप शाक्य, महासचिव नेहा श्रेष्ठ अमात्य, कोषाध्यक्ष स्कन्द अमात्यलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

युवा उद्यमी, उद्योगी तथा चेम्बरका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रमले युवाहरूमा व्यावसायिक आत्मविश्वास जगाउन महत्वपूर्ण भूमिका खेलेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार