सवारी साधनमा कालो सिसा हटाउने विषयमा नाडा र ट्राफिक प्रहरीबीच छलफल

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का प्रतिनिधिहरूबीच सवारी साधनमा प्रयोग भइरहेको कालो सिसा हटाउने विषयमा महत्वपूर्ण छलफल भएको छ । सोमबार नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको टोलीले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेसँग भेट गरी यस विषयमा विस्तृत छलफल गरेको हो ।

छलफलका क्रममा ट्राफिक प्रहरी प्रमुख काफ्लेले कालो सिसा भएका सवारी साधनहरू विभिन्न आपराधिक क्रियाकलापमा प्रयोग हुने गरेको देखिएकाले सवारी व्यवस्थापन ऐन २०४९ बमोजिम सिसाहरू हटाउन लागिएको जानकारी दिए । उनले अन्तर्राष्ट्रिय अभ्यासमा समेत यस्ता सिसालाई निरुत्साहित गरिएको उल्लेख गर्दै सवारी साधनको अगाडिको सिसामा कुनै पनि किसिमको स्टिकर टाँस्न नपाइने व्यवस्थाबारे पुनः ध्यानाकर्षण गराए । साथै, उनले सवारी साधन आयातकर्ताहरूलाई आफ्ना ग्राहकहरूलाई यस विषयमा सचेत गराउन र उत्पादक कम्पनीहरूबाटै कालो सिसा जडित सवारी साधन आयात नगर्न आग्रह गरे । कालो सिसाको अनिवार्य आवश्यकता पर्ने सवारी प्रयोगकर्ताहरूले भने कानुनबमोजिम सरकारको पूर्व स्वीकृति लिनुपर्ने उनको भनाइ छ ।

यस विषयमा नाडाका अध्यक्ष उप्रेतीले प्राविधिक रूपमा सजिलै हटाउन सकिने कालो स्टिकर (फिल्म)लाई नै पहिलो प्राथमिकतामा राखी प्रक्रिया अघि बढाउन सुझाव दिए । त्यसैगरी, नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले उत्पादक कम्पनीबाटै कालो सिसा जडित भएर आएका सवारी साधनहरूको संख्या निकै कम रहेको भन्दै त्यस्ता सवारीहरूको यकिन तथ्यांक संकलन गरेर हटाउने कार्य अघि बढाउन सकिने धारणा व्यक्त गरे । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको लिखित अनुरोधमा आयोजित उक्त छलफलमा नाडाका तर्फबाट उपाध्यक्ष अभिक ज्योतिसमेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार