नाडाको ५०औं वार्षिकोत्सव, साताव्यापी कार्यक्रम आयोजना गरी मनाईंदै

नेपालको अटोमोबाइल क्षेत्रको छाता सङ्गठन, नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले आफ्नो स्थापनाको ५०औँ वर्ष पूरा भएको अवसरमा भव्य रुपमा स्वर्ण महोत्सव मनाएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठको प्रमुख आतिथ्यता तथा नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको सभापतित्वमा आयोजित स्वर्ण महोत्सवमा संस्थाको ५० वर्षे गौरवशाली यात्रालाई विशेष रूपमा स्मरण गरिएको छ।

स्वर्गीय तोलाराम दुगडले २०३२ सालमा स्थापना गरेको नाडाले आफ्नो स्वर्ण जयन्तीलाई अविस्मरणीय बनाउन वाकाथनको आयोजना गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाबाट सुरु भई दरबारमार्गको होटल याक एण्ड यतिसम्म पुगेको सो र्‍यालीमा नाडाका पूर्वअध्यक्षहरू, कार्यसमितिका पदाधिकारी, सदस्य कम्पनीका प्रतिनिधि, सञ्चारकर्मी तथा विभिन्न विशिष्ट व्यक्तित्वहरूको उत्साहजनक सहभागिता रहेको थियो । समारोहमा नाडाले आफ्ना पूर्वअध्यक्षहरूलाई विशेष सम्मानसमेत प्रदान गरेको छ।

पाँच दशकको यस लामो अवधिमा नाडाले २३ वटा अधिवेशन सम्पन्न गरिसकेको छ भने २१ जना अध्यक्षहरूले संस्थालाई सफल नेतृत्व प्रदान गरिसक्नुभएको छ। यस अवधिमा संस्थाले आफ्नो गरिमालाई उच्च राख्दै विभिन्न प्रकाशन तथा कार्यक्रमहरू मार्फत उद्योगको प्रवर्द्धन गर्दै आएको छ । नाडाले हालसम्म ३६औँ संस्करणको ट्रेड डाइरेक्ट्री, ५१औँ संस्करणको नाडा अटो न्यूज र १८औँ संस्करणको अटो ड्राइभ क्यालेण्डर सार्वजनिक गरिसकेको छ । साथै, यसै वर्षको भाद्र महिनामा १८औँ संस्करणको ‘नाडा अटो शो’ आयोजना गर्ने तयारीसमेत संस्थाले गरिरहेको छ।

नेपाल उद्योग वाणिज्य महासंघबाट पटक–पटक ‘उत्कृष्ट वस्तुगत एशोसिएशनुको रूपमा सम्मानित हुँदै आएको नाडा सन् २०१५ देखि ISO 9001:2015 QMS Certified Organization प्रमाणित संस्थासमेत रहेको छ । व्यावसायिक गतिविधिका अतिरिक्त नाडाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत देशव्यापी रूपमा विभिन्न परोपकारी कार्यहरू गर्दै आएको छ भने राष्ट्रिय विपत्तिका समयमा पनि संस्थाले सक्रिय भूमिका निर्वाह गर्दै आएको छ ।

आजबाट सुरु भएको यो स्वर्ण उत्सव आगामी असार १९ गतेसम्म साताव्यापी रूपमा काठमाडौँका साथै सातै प्रदेशमा विभिन्न कार्यक्रमहरू आयोजना गरी भव्यताका साथ मनाइनेछ । कार्यक्रमको सञ्चालन नाडाका महासचिव मिलनबाबु मल्लले गरेका थिए भने कार्यक्रमको संयोजन तथा धन्यवाद ज्ञापन संस्थाका उपाध्यक्ष विक्रम सिंघानियाले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार