‘ओभरलोड नियन्त्रण नगरे सडक र पुलको आयु घट्छ’ : अध्यक्ष बानियाँ

नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले सडक पूर्वाधारको संरक्षण र सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ओभरलोड’ नियन्त्रणलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् ।

मंगलबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै अध्यक्ष बानियाँले सडक तथा पुलको निर्माणमा राज्यको लगानी खेर जानुको प्रमुख कारण ओभरलोड भएको बताए । उनले बुटवल–नारायणगढ र बुटवल–हेटौंडा सडकखण्डको उदाहरण दिँदै उच्च गुणस्तरको मापदण्डमा निर्माण गरिएका सडकहरू समेत क्षमताभन्दा बढी भार बोकेर गुड्ने सवारी साधनका कारण केही महिनामै भत्किन थालेको तथ्य प्रस्तुत गरे ।

‘सडक र पुलको दीर्घकालीन संरक्षण चाहने हो भने ओभरलोडमाथि कडाइ गर्नुको विकल्प छैन । यस्तो समस्या रहिरहेसम्म सडकको आयु घट्दै जानेछ र राज्यको ठूलो लगानी जोखिममा पर्नेछ,’ बानियाँले भने ।

बैठकमा उनले नेपाल प्रवेश गर्ने भारतीय सवारी साधनको व्यवस्थापनमा देखिएको कमजोरीप्रति पनि ध्यानाकर्षण गराए । नेपाल प्रवेश गर्ने भारतीय सवारी साधनलाई ७२ घण्टासम्म आवतजावत गर्न दिने व्यवस्थाको दुरुपयोग भइरहेको उनको भनाइ छ ।

उनले भारतीय सवारी साधनलाई प्रवेश गरेको नाकाबाटै बाहिरिनुपर्ने व्यवस्थालाई कडाइका साथ लागू गर्न माग गरे । साथै, भारतीय सवारी साधनबाट हुने ओभरलोड र तीव्र गतिका कारण सडक दुर्घटनाको जोखिम बढेको भन्दै ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराए ।

यातायात क्षेत्रको व्यवस्थित सञ्चालन र सार्वजनिक पूर्वाधारको सुरक्षाका लागि ओभरलोड नियन्त्रणलाई राष्ट्रिय एजेन्डाको रूपमा अगाडि बढाउन उनले समिति र सरकारसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार