शैक्षिक परामर्श तथा भाषा शिक्षणका सम्बन्धमा जापानिज ल्याङ्ग्वेज स्कुल एसोसिएसन अफ नेपाल (जाल्सान) र नेपाली राजदूतावासबीच महत्वपूर्ण छलफल भएको बताइएको छ । विशेषगरी शैक्षिक परामर्श तथा भाषा शिक्षण क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले नेपाल सरकारले अघि बढाएको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ को मस्यौदाका सम्बन्धमा दूतावासका जनसम्पर्क तथा संस्कृति विभागका प्रथम सचिव हारा नोयरुसँग छलफल भएको जाल्सानले जनाएको छ ।
जाल्सानका अध्यक्ष रमेश देवकोटाको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डल र प्रथम सचिव नोयरुबीच सरकारले ल्याउन लागेको नियमावली र यसले शैक्षिक क्षेत्रमा पार्ने प्रभावका विषयमा विस्तृत विमर्श भएको महासचिव अरुण पाण्डेले बताए ।
‘छलफलका क्रममा फस्ट सेक्रेटरीले नियमावली मस्यौदामा समावेश गरिएका विभिन्न बुँदाहरू र तिनले आगामी दिनमा शैक्षिक परामर्श सेवामा पार्न सक्ने प्रभावबारे चासो राख्नुभयो,’ महासचिव पाण्डेले भने, ‘हामीले पनि परामर्श व्यवसायीका तर्फबाट नियमावलीका प्रावधानहरू, त्यसले पार्न सक्ने सकारात्मक तथा सम्भावित चुनौतीका विषयमा जानकारी दियौं ।’
विशेषगरी नेपाली विद्यार्थीहरूलाई जापानको शैक्षिक अवसरसँग जोड्ने प्रक्रियामा दूतावासको भूमिकालाई आगामी दिनमा अझै सुदृढ बनाउने विषयमा दुवै पक्षबीच कुराकानी भएको उनको भनाई छ ।
छलफलका क्रममा शैक्षिक परामर्श क्षेत्रमा जापानिज राजदूतावासले प्रदान गर्दै आएको निरन्तर सहयोग, समन्वय र सद्भावप्रति हार्दिक आभार प्रकट गरिएको जाल्सानले जनाएको छ । शैक्षिक परामर्श क्षेत्रलाई थप पारदर्शी, विश्वसनीय र प्रभावकारी बनाउन यस्ता छलफलहरूले महत्त्वपूर्ण भूमिका खेल्ने जाल्सानले विश्वास लिएको छ ।







प्रतिक्रिया