बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा शुक्रबार यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।
बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरेतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस दुर्घटनामा परेका घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार दुर्घटनास्थलमै ज्यान गुमाएका ८ जनाको शव अस्पतालमा ल्याइएको छ । घाइतेमध्ये केहीलाई सघन उपचार कक्ष (आईसीयू) मा राखिएको छ भने अन्यलाई विभिन्न वार्डमा उपचार प्रदान गरिएको छ । आवश्यकता अनुसार केही घाइतेको शल्यक्रियासमेत भइरहेको अस्पतालले जनाएको छ ।
घाइतेहरूको उपचारका लागि अस्पताल पूर्ण रूपमा सक्रिय रहेको र आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराइएको अस्पतालद्वारा जारी सूचनामा उल्लेख छ ।
दुर्घटनाप्रति दुःख व्यक्त गर्दै अस्पतालले ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ भने शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।





प्रतिक्रिया