इजरायल रोजगारीका लागि लिइँदै आएको अंग्रेजी भाषा परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको छ। परीक्षा व्यवस्थापनमा देखिएको कमजोरी र त्यसका कारण सिर्जित तनावपूर्ण परिस्थितिपछि परीक्षा सञ्चालक संस्था ‘सीआईआईएन इन्टरनेसनल क्वालिफिकेसन्स’ले यस्तो निर्णय लिएको हो ।
मंगलबार (जुन ९) परीक्षा सञ्चालन भइरहेको समयमा व्यवस्थापनको विरोधमा उत्रिएका परीक्षार्थी र आयोजक पक्षबीच झडप भएको थियो। परीक्षार्थीहरूले परीक्षा शुल्कअनुसारको गुणस्तरीय सेवा नपाएको, कम्प्युटर र हेडसेटको अभाव रहेको तथा सर्भर सुस्त हुँदा अनलाइन प्रणालीमा उत्तर सबमिट नभएको भन्दै आक्रोश व्यक्त गरेका थिए।
यही क्रममा केही परीक्षार्थीहरू परीक्षा हलभित्र जबरजस्ती प्रवेश गरी कर्मचारी र अन्य परीक्षार्थीहरूमाथि भौतिक आक्रमण गरेको र परीक्षा कार्य बिथोलेको आरोप लगाइएको छ।
घटनालगत्तै फेसबुकमार्फत सूचना जारी गर्दै आयोजक सीआईआईएनले ‘अप्रत्यासित परिस्थिति’का कारण ९ र १० जुनका लागि निर्धारित सबै परीक्षाहरू स्थगित गरिएको जनाएको छ।
सूचनामा भनिएको छ– ‘परीक्षाको क्रममा केही अराजक व्यक्तिहरू जबरजस्ती परीक्षा हलभित्र प्रवेश गरी कर्मचारी तथा परीक्षार्थीहरूमाथि भौतिक आक्रमण गरी परीक्षा अवरुद्ध पारेको कारण, आज (१० जुन) का लागि तोकिएको परीक्षासमेत स्थगित गर्नुपरेको छ।’
परीक्षार्थीहरूले ५ हजार रुपैयाँ शुल्क लिइए पनि सोअनुरुपको प्राविधिक सेवा नभएको, आवश्यक कम्प्युटर, हेडसेट तथा अन्य उपकरणहरूको व्यवस्थापन कमजोर रहेको, भिडभाड र होहल्लाका कारण ‘स्पिकिङ’ परीक्षा प्रभावित हुनुका साथै सर्भर सुस्त हुँदा सबमिट गर्न कठिनाइ भएको बताएका छन् ।
अंग्रेजी भाषा परीक्षाको जिम्मेवारी पाएको त्रिपुरेश्वरस्थित सीआईआईएनले नयाँ मिति र समयसम्बन्धी जानकारी यथाशीघ्र अर्को सूचनामार्फत दिइने उल्लेख गरेको छ ।







प्रतिक्रिया