बजेटले अर्थतन्त्रमा पुनः आत्मविश्वास र गति फर्काउने महासंघ अध्यक्ष श्रेष्ठको अपेक्षा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले मुलुकको अर्थतन्त्रलाई सही दिशामा लैजाने महत्त्वाकांक्षा देखाएको बताएका छन् । महासंघले सोमबार राजधानीमा आयोजना गरेको ‘नीति संवाद’ कार्यक्रममा अध्यक्ष श्रेष्ठले बजेटले लगानीको वातावरण सुधार, उत्पादन वृद्धि र स्वदेशमै रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको भन्दै सकारात्मक प्रतिक्रिया दिएका छन् ।

अध्यक्ष श्रेष्ठले दशकौंदेखि नेपाली अर्थतन्त्र संरक्षणवाद, अनौपचारिक कारोबार र प्रशासनिक झन्झटको चक्रमा रुमल्लिएको उल्लेख गर्दै यो बजेटले उक्त चक्र तोड्ने आँट गरेको बताए । उनले बजेट परम्परागत खर्च बाँडफाँटको ढर्राभन्दा माथि उठेर संरचनागत र कानुनी सुधारतर्फ केन्द्रित भएको भन्दै यसलाई महासंघले सकारात्मक रूपमा लिएको स्पष्ट पारे ।

हालको अर्थतन्त्र निकै असहज विरोधाभासमा गुज्रिरहेको विश्लेषण गर्दै अध्यक्ष श्रेष्ठले बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिए पनि र ब्याजदर ऐतिहासिक रूपमै न्यून भए पनि निजी क्षेत्रमा कर्जाको माग नबढ्नु र बजार माग खुम्चिनु चुनौतीपूर्ण रहेको बताए । उनले यस्तो शिथिलता र अन्योलबीच आएको नयाँ बजेटले अर्थतन्त्रमा पुनः आत्मविश्वास र गति फर्काउने अपेक्षा गरे ।

महासंघले लामो समयदेखि उठाउँदै आएको पुराना र परस्पर बाझिने कानुनहरूको समस्यालाई बजेटले सम्बोधन गरेको भन्दै श्रेष्ठले सरकारको कदमको प्रशंसा गरे । १५ वटा कानुन खारेजीका लागि संशोधन विधेयक संसद्मा लैजाने, उधारो असुली कानुन, बौद्धिक सम्पत्ति संरक्षण कानुन र ‘सनसेट’ कानुन ल्याउने सरकारको प्रतिबद्धता दूरगामी महत्त्वको रहेको उनको भनाइ छ । बजेटका नीति तथा कार्यक्रमहरूलाई सकारात्मक रूपमा लिए पनि अध्यक्ष श्रेष्ठले यसको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार