नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आज हुँदैछ । चुनावी मैदानमा त्रिपक्षीय भिडन्त हुँदैछ । जसमा संघका पूर्व महासचिव मेघनाथ भुर्तेल, पूर्व प्रथम उपाध्यक्षहरू डिक बहादुर खत्री (कुमार) र हरिबहादुर पाण्डे प्यानलसहित प्रतिश्पर्धामा उत्रिएका छन् ।
जिल्ला प्रशासन कार्यालयले कार्यसमिति विघटन गरेर निर्वाचनमा जान निर्देशन दिएपछि विशेष साधारणसभा तथा निर्वाचन हुन लागेको हो ।
संघको यसपटकको निर्वाचनमा पनि राजनीतिक दल समर्थित संगठनहरु नै प्यानल बनाएर चुनावमा होमिएका छन् । जसमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी हुँदाहुँदै राष्ट्रिय स्वतन्त्र पार्टीसमेत थपिएको छ ।
राजनीतिक रुपमा संघका पूर्व महासचिव भुर्तेलले नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन संघको तर्फबाट प्यानलसहित उम्मेदवारी दिएका छन् ।
त्यस्तै पूर्व प्रथम उपाध्यक्ष खत्रीले नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चको तर्फबाट प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । उनको प्यानलमा कांग्रेस निकटको लोकतान्त्रिकको असन्तुष्ट पक्षहरू समेत सहभागी भएका छन् । जसलाई संयुक्त प्यानल पनि भनिएको छ ।
त्यसैगरी नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समितिका अध्यक्ष तथा संघका पूर्वप्रथम उपाध्यक्ष पाण्डेले राष्ट्रिय स्वतन्त्र पार्टी निकटका व्यवसायीहरूलाई समेटेर प्यानलसहित चुनावी मैदानमा होमिएका छन् ।
संघको ७ जना पदाधिकारी र १० जना सदस्यगरी १७ जनाका लागि तिन वटै प्यानलबाट ५१ जनाको उम्मेदवारी रहेको छ ।
२०८१ को चैत २९ गते भएको ३१ औं साधारणसभाबाट भुवनसिंह गुरुङ अध्यक्षमा निर्वाचित भएका थिए । उनको कार्यशैलीप्रति कार्यसमितिभित्र नै तिब्र असन्तुष्टी व्यक्त हुँदै आएको थियो । अध्यक्षले मनपरी ढंगबाट अगाडि बढ्ने खोजेको, संघलाई आफ्नो व्यक्तिगत कम्पनी बनाएको जस्ता आरोप लगाउँदै महासचिव महेश कुमार बस्नेतसहितका दुई तिहाई पदाधिकारीसहित सदस्यहरूले राजीनामा दिएका थिए ।
राजीनामापछि कार्यसमिति विघटन भई संघको विधान अनुसार प्रबन्ध समिति बनेको थियो । उक्त समितिले जेठ २४ गतेका लागि विशेषसाधारणसभा तथा निर्वाचनको मिति तय गरेको थियो ।
तर, गुरुङले आफु नै अध्यक्ष भएको दाबी पेश गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले हस्तक्षेप गर्दै कार्यसमिति विघटन गर्दै २४ गते नै विशेषसाधारणसभा गर्न निर्देशन दिएको थियो ।
प्रबन्ध समिति सदस्य तथा संघका पूर्व अध्यक्ष राजेन्द्र भण्डारीले तीन वटा प्यानलबाट नयाँ कार्यसमितिका लागि उम्मेदवारी दर्ता भएको बताए ।






प्रतिक्रिया