नेपाल विद्युतीय व्यवसायी महासंघले नेपालको विद्युतीय, इलेक्ट्रोनिक्स, ऊर्जा, सञ्चार, सूचना प्रविधि तथा वैकल्पिक ऊर्जा क्षेत्रको विकास, प्रविधि हस्तान्तरण, औद्योगिक प्रवद्र्धन र अन्तर्राष्ट्रिय व्यापार विस्तार गर्ने उद्देश्यका साथ ट्रान्सवेल्ड ट्रान्सफर्मरको मुख्य प्रायोजनमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ को १२औं संस्करण आयोजना गर्ने भएको छ । नेपालकै विद्युतीय तथा ऊर्जा क्षेत्रको सबैभन्दा ठूलो र प्रतिष्ठित प्रदर्शनीको रूपमा स्थापित यो कार्यक्रम यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौँस्थित भृकुटीमण्डप प्रदर्शनी हलमा सञ्चालन हुने भएको हो ।
सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी महासंघले नेपालकै सबैभन्दा ठूलो र प्रतिष्ठित विद्युतीय तथा ऊर्जा क्षेत्रको प्रदर्शनीका रूपमा स्थापित यस कार्यक्रमले ऊर्जा, विद्युतीय सामग्री, औद्योगिक स्वचालन, स्मार्ट प्रविधि तथा इलेक्ट्रोनिक्स क्षेत्रका नवीनतम उत्पादन र सेवाहरूको प्रदर्शन गर्ने जानकारी दिएको छ ।
महासंघका अध्यक्ष एवं प्रर्दशनी मूल आयोजक समितिका संयोजक दिलीप कुमार अग्रवालले वि.सं. १९९६ देखि नै निरन्तर आयोजना हुँदै आएको यस प्रदर्शनीले तीन दशकभन्दा बढी समयदेखि उत्पादक, आयातकर्ता, वितरक, निर्माण व्यवसायी, परामर्शदाता, इन्जिनियर, प्राविधिक, सरकारी निकाय, शैक्षिक संस्था तथा उपभोक्ताहरूलाई एउटै थलोमा ल्याई ज्ञान, प्रविधि र व्यवसायिक अवसरहरूको आदान–प्रदान गर्दै आएको बताए ।
अध्यक्ष अग्रवालले नेपाल सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत ऊर्जा तथा विद्युतीय क्षेत्रलाई प्राथमिकतामा राखेको सन्दर्भमा प्रदर्शनीले विद्युत उत्पादन वृद्धि, प्रसारण तथा वितरण पूर्वाधार विस्तार, विद्युतीय सवारीसाधनको प्रवद्र्धन तथा ऊर्जा आत्मनिर्भरता हासिल गर्ने सरकारी लक्ष्यलाई सहयोग पुग्ने विश्वाससमेत व्यक्त गरे ।
नेपालमा जलविद्युत उत्पादन, विद्युत पहुँच विस्तार, औद्योगिकीकरण तथा डिजिटल प्रविधिको प्रयोग तीव्र गतिमा बढिरहेको वर्तमान अवस्थामा सुरक्षित, गुणस्तरीय तथा आधुनिक विद्युतीय सामग्रीको प्रयोग अपरिहार्य बन्दै गएको छ । विद्युत उत्पादन वृद्धि, प्रसारण तथा वितरण प्रणालीको विस्तार, विद्युत खपत अभिवृद्धि, विद्युतीय सवारीसाधनको प्रवद्र्धन तथा नवीकरणीय ऊर्जाको प्रयोगलाई प्राथमिकतामा राखिएको वर्तमान राष्ट्रिय आवश्यकता अनुरूप प्रर्दशनीले महत्वपूर्ण भूमिका खेल्ने विश्वास महासंघले लिएको छ ।
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेबाट औपचारिक उद्घाटन हुने प्रर्दशनीमा नेपाल, भारत, चीन लगायत विभिन्न देशका प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनी, उत्पादक संस्था, आयातकर्ता, वितरक तथा प्रविधि प्रदायकहरूको उल्लेखनीय सहभागिता रहने बताइएको छ । ऊर्जा, विद्युतीय सामग्री, औद्योगिक स्वचालन, स्मार्ट प्रविधि तथा इलेक्ट्रोनिक्स क्षेत्रका अग्रणी ब्राण्डहरूले आफ्ना नवीनतम उत्पादन, सेवा तथा अत्याधुनिक प्रविधिहरू प्रदर्शनीमार्फत प्रस्तुत गर्ने महासंघले जनाएको छ ।
प्रदर्शनीमा ट्रान्सवेल्ड, हेभल्स, केईआई, जनता केबल, लेजर इन्डिया, ग्रेटह्वाइट इलेक्ट्रिकल्स, ब्रिलियन्ट एलईडी, इलेक्ट्रा इलेक्ट्रीक, बजाज, सिमेन्स, क्रम्टन, उषा, एङ्कर, लिपर, स्टेण्डली, के नइन, ओरिएन्ट इलेक्ट्रिक, महालक्ष्मी, चिन्ट, एमजि गोल्ड, सी एण्ड एस इलेक्ट्रिक, प्राइम वायर्स, अर्किड इलेक्ट्रिकल्स लगायतका स्वदेशी तथा बहुराष्ट्रिय ब्राण्डहरूको सहभागिता रहनेछ । प्रदर्शनीले उद्योगी, व्यवसायी, प्राविधिक, नीति निर्माता, शैक्षिक संस्था तथा उपभोक्ताबीच ज्ञान, प्रविधि र व्यावसायिक अवसरहरूको आदान-प्रदानका लागि महत्वपूर्ण मञ्च प्रदान गर्ने महासंघले अपेक्षा गरेको छ ।
त्यस्तै स्वदेशी उत्पादक, अन्तर्राष्ट्रिय ब्राण्ड, वितरक, डिलर, प्राविधिक तथा उपभोक्ताहरूलाई एउटै मञ्चमा जोड्दै व्यवसायिक सहकार्य, प्रविधि हस्तान्तरण तथा नयाँ अवसरहरूको सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
प्रदर्शनीमा विद्युतीय उपकरण तथा सामग्री, ट्रान्समिसन तथा डिष्ट्रिब्युसन प्रणाली, ट्रान्सफर्मर, स्विचगियर, केबल तथा तार, ऊर्जा व्यवस्थापन प्रणाली, स्मार्ट होम तथा स्मार्ट बिल्डिङ समाधान, औद्योगिक स्वचालन एलईडी, विद्युतीय सुरक्षा प्रणाली, सौर्य ऊर्जा तथा नवीकरणीय ऊर्जा प्रविधि, ई-मोबिलिटी तथा चार्जिङ पूर्वाधार, सूचना प्रविधि, परीक्षण तथा मापन उपकरण तथा अत्याधुनिक इलेक्ट्रोनिक्स सामग्रीहरूको प्रदर्शन गरिनेछ ।
प्रदर्शनीको मुख्य उद्देश्य नेपालको विद्युतीय तथा ऊर्जा क्षेत्रको समग्र विकासलाई टेवा पुर्याउनु, स्वदेशी तथा विदेशी उत्पादक, आपूर्तिकर्ता, आयातकर्ता, वितरक तथा उपभोक्ता बीच व्यवसायिक सम्बन्ध विस्तार गर्नु, नवीनतम प्रविधि तथा समाधानहरूको आदान-प्रदानलाई प्रोत्साहन गर्नु तथा स्वच्छ ऊर्जा, ऊर्जा दक्षता र दिगो विकासका अवधारणालाई प्रवद्र्धन गर्नु रहेको छ । साथै यसले युवाहरू, प्राविधिक जनशक्ति तथा उद्यमीहरूलाई नयाँ अवसरहरूसँग जोड्दै नेपाललाई क्षेत्रीय विद्युतीय तथा ऊर्जा व्यापारको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न समेत सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
प्रदर्शनी अवलोकनकर्ताका लागि आधुनिक प्रविधि, सुरक्षित तथा गुणस्तरीय सामग्री, ऊर्जा बचत समाधान तथा बजारमा उपलब्ध नयाँ उत्पादनहरूको प्रत्यक्ष जानकारी प्राप्त गर्ने उत्कृष्ट अवसर हुनेछ । उपभोक्ताले एउटै स्थलमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका उत्पादनहरू अवलोकन गर्न, तुलना गर्न, प्राविधिक जानकारी लिन तथा नयाँ प्रविधिको प्रत्यक्ष अनुभव प्राप्त गर्न सक्नेछन् । यसले सुरक्षित तथा गुणस्तरीय विद्युतीय सामग्रीको प्रयोग सम्बन्धी जनचेतना अभिवृद्धि गर्न समेत सहयोग पुग्नेछ ।
त्यसैगरी प्रदर्शक कम्पनीहरूका लागि यो प्रदर्शनी आफ्नो ब्राण्ड प्रवद्र्धन, नयाँ उत्पादन सार्वजनिक, बजार विस्तार, व्यवसायिक सञ्जाल निर्माण, सम्भावित ग्राहक तथा वितरकहरूसँग प्रत्यक्ष सम्पर्क स्थापना तथा नेपाली बजारको सम्भावना अध्ययन गर्ने महत्वपूर्ण अवसर हुनेछ । नेपाल तथा दक्षिण एशियाली क्षेत्रमा आफ्नो पहुँच विस्तार गर्न इच्छुक कम्पनीहरूका लागि समेत यो प्रभावकारी व्यवसायिक प्लेटफर्म बन्ने अपेक्षा गरिएको छ । यस वर्ष प्रदर्शनीका सम्पूर्ण स्टलहरू पूर्वनिर्धारित समयमै बुकिङ सम्पन्न भइसकेको महासंघले जनाएको छ ।
प्रदर्शनी अवधिभर विभिन्न अन्तरक्रिया कार्यक्रम, व्यवसायिक भेटघाट, उत्पादन प्रदर्शन, प्रविधि प्रस्तुतीकरण तथा ज्ञानमूलक सत्रहरू सञ्चालन गरिनेछन् । उद्योगी-व्यवसायी, इन्जिनियर, प्राविधिक, आर्किटेक्ट, निर्माण व्यवसायी, परामर्शदाता, विद्यार्थी तथा अनुसन्धानकर्ताहरूले नवीनतम प्रविधि तथा अन्तर्राष्ट्रिय अनुभवबाट प्रत्यक्ष लाभ लिन सक्ने बताइएको छ ।











प्रतिक्रिया