एकै स्थानबाट कर तिर्ने र व्यवसाय दर्ता गर्ने व्यवस्था मिलाउन उद्योग वाणिज्य महासंघका अध्यक्ष श्रेष्ठको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले व्यवसायीले हाल स्थानीय तह, प्रदेश र संघीय सरकारलाई छुट्टाछुट्टै कर तिर्नुपर्ने व्यवस्था सुधार गर्नुपर्ने बताएका छन् । उनले कर तिर्ने र व्यवसाय दर्ता गर्ने प्रक्रिया एकै स्थानबाट हुने व्यवस्था आवश्यक रहेको बताएका छन्।

शनिबार होटल मेरियटमा आयोजित नेपाल जग्गा तथा आवास विकास संघको ११औँ साधारण सभामा श्रेष्ठले सरकारले ल्याएको बजेटमा केही सकारात्मक पक्ष रहेको उल्लेख गरे । उनका अनुसार बजेटले आयकरको दर घटाउने प्रयास गर्नुका साथै मध्यम वर्गलाई सम्बोधन गरेको छ।

उनले सूचना प्रविधि क्षेत्रलाई प्रोत्साहन गरिएको र पुँजीगत बजेट पनि बढाइएको बताए । बजेटले युवालाई प्राथमिकतामा राखेको विषयलाई समेत उनले सकारात्मक रूपमा लिएका छन् ।

श्रेष्ठले निजी क्षेत्रप्रति राज्यको व्यवहार सुधार हुनुपर्ने धारणा राखे। उद्योगी व्यवसायीलाई थुन्ने, दुःख दिने वा मिडिया ट्रायल गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने उनको भनाइ थियो ।

संविधान संशोधनको सन्दर्भमा उनले समाजवाद उन्मुख तीन खम्बे आर्थिक नीतिमा पुनर्विचार गर्नुपर्ने बताए । उनले यस्तो नीतिले देशलाई अपेक्षित आर्थिक गन्तव्यमा पुर्‍याउन नसक्ने भन्दै सामाजिक न्यायसहितको खुला प्रतिस्पर्धात्मक बजार अर्थतन्त्रतर्फ अघि बढ्नुपर्ने धारणा राखे ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार