हेटौँडा–४ स्थित स्कुल रोडमा जेएन्डबी बारिस्टा एकेडेमी सञ्चालनमा आएको छ । एकेडेमीको उद्घाटन पूर्व सांसद, संविधानसभा सदस्य एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारी र प्राविधीक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटीभिटीका बागमती प्रदेशका कार्यकारी निर्देशक शान्ती लामाले संयुक्त रूपमा गरेका हुन् ।
एकेडेमीका सञ्चालक तथा युवा उद्यमी जगदीश बिडारीले विदेशमा आठ वर्ष काम गरेपछि हेटौँडामा विगत चार वर्षदेखि जेएन्डबी कफी सञ्चालन गर्दै आएका छन् । उनले सिटिइभिटीसंगको समन्वयमा वारिष्टा तालिम र आफ्नो स्वउद्यमको लागि कफि शप सञ्चालनमा ल्याएसँगै धेरैलाई सिप र रोजगारी बढाउन सकेको बताए । व्यवसायसँगै उनले सानो लगानीमै स्वदेशमा क्याफे सञ्चालन गरेर केही रोजगारी समेत सृजना गरेका छन् ।
बिडारीले बारिष्टा लगायतका सीप युवाहरूबीच लोकप्रिय बन्दै गएको र वैदेशिक रोजगारीमा जान चाहनेका लागि समेत उपयोगी भएकाले करिब १५ लाख रुपैयाँ लगानीमा एकेडेमी सञ्चालनमा ल्याइएको जानकारी दिए ।
उद्घाटन कार्यक्रममा वरिष्ठ अधिवक्ता बिडारीले विदेशमा सिकेको ज्ञान, सीप र अनुभवलाई स्वदेशमा उपयोग गर्नु सकारात्मक काम भएको बताए । उनले यस्ता युवाहरुलाई समाजले प्रोत्साहन गर्नुपर्ने र स्वउद्यम नै सफलताको कडि भएको बताए ।
यस्तै कार्यक्रममा सिटीभिटीका बागमती प्रदेशका कार्यकारी निर्देशक शान्ती लामाले जे एन्ड बि कफी बार परिवारप्रति हार्दिक धन्यवाद गर्दै नयाँ यात्राले सफलता, आत्मीयता र सुगन्धित सम्भावनाको निरन्तर विस्तार पाओस भन्ने शुभकामना दिइन् ।
उक्त एकेडेमीमा बारिस्टा, बारटेन्डर, सुशी, बेकरी, पिज्जा, कुकिङ, हाउस किपिङ, तन्दुर, बर्गर र स्यान्डविच सम्बन्धी तालिम सञ्चालन गरिनेछ । तालिम अवधि १५ दिनदेखि ३ महिनासम्म रहने बताइएको छ ।
सञ्चालक बिडारीका अनुसार सरकारी तथा गैरसरकारी संस्थासँग सहकार्य गरेर पनि सीपमूलक तालिम सञ्चालन गर्न सकिनेछ । साथै वैदेशिक रोजगारीमा जान चाहने युवाहरूलाई सीपसम्बन्धी परामर्श सेवा समेत प्रदान गरिनेछ ।






प्रतिक्रिया