नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्ष पदमा हरिशरण केसीले उम्मेदवारी दिएका छन् । उनको उम्मेदवारीसँगै महासंघको चुनावी माहोल थप रोमाञ्चक बनेको छ । लामो समयदेखि यातायात क्षेत्रमा सक्रिय केसीको उम्मेदवारीले व्यवसायीहरूबीच नयाँ उत्साह र ऊर्जा थपिएको बताइएको छ ।
केन्द्रीय सदस्य हुँदै लगातार दुई कार्यकाल वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका केसी यातायात क्षेत्रका अनुभवी, संघर्षशील तथा प्रभावशाली व्यक्तित्वका रूपमा परिचित छन् । संगठन निर्माणदेखि व्यवसायीका हकहितका सवालसम्म सक्रिय भूमिका निर्वाह गरेका कारण उनलाई व्यवसायीहरूको “साझा उम्मेदवार” का रूपमा हेरिएको छ ।
कराते खेलाडीसमेत रहेका केसी आफ्नो अनुशासन, नेतृत्व क्षमता र स्पष्ट कार्यशैलीका कारण व्यवसायीमाझ लोकप्रिय मानिन्छन् । महाधिवेशनस्थलमा उनको पक्षमा खुलेर समर्थन जनाउनेहरूको संख्या बढ्दै गएको छ भने युवा व्यवसायीदेखि पुराना अग्रजसम्मले उनको नेतृत्वमा महासंघ थप बलियो बन्ने विश्वास व्यक्त गरेका छन् ।
पोखरामा जारी महाधिवेशनमा अध्यक्ष पदका लागि पुण्यप्रसाद सिटौला र केसीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । चुनावी भेटघाट, आन्तरिक छलफल र समर्थन जुटाउने गतिविधि तीव्र बन्दै जाँदा महासंघको नेतृत्व चयनलाई लिएर व्यवसायी वृत्तमा चासो झन् बढेको छ ।






प्रतिक्रिया