जापानिज भाषा स्कुल संघ नेपाल (जाल्सान)ले ११औं जापानिज भाषा वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ । यही माघ २४ गते अर्थात आगामी फेब्रअरी ७ मा जापानिज भाषा अध्ययन गरेका विद्यार्थीहरुको सहभागितामा उक्त प्रतियोगिता आयोजना हुने जाल्सानले जनाएको छ ।
जापान अध्ययनको लागि जाने विद्यार्थीहरुको भाषिक क्षमता अभिवृद्धि गर्न र नेपाल–जापानबीचको सम्बन्धलाई अझ बलियो बनाउने उदेश्यले जापानिज भाषा वक्तृत्वकला प्रतियोगिता आयोजना गर्न लागिएको जाल्सानका अध्यक्ष रमेश देवकोटाले बताए ।
‘जाल्सान स्थापनाकाल देखि नै जापान गएर अध्ययन गर्न चाहने विद्यार्थीहरुको क्षमता तथा भाषा दक्षतामा अभिवृद्धि गर्ने उदेश्यले नै वक्तृत्वकला प्रतियोगिता संचालन गर्दै आइरहेका छौं,’ अध्यक्ष देवकोटाले भने, ‘त्यसैलाई निरन्तरता दिंदै विभिन्न शैक्षिक संस्थामा जापानिज भाषा सिकिरहेका विद्यार्थीहरुलाई सहभागि गराएर प्रतियोगिता आयोजना गरिनेछ ।’
उनका अनुसार प्रत्येक वर्ष गरिने यस्तो प्रतियोगिताबाट जापान जाने विद्यार्थीलाई जापानिज भाषा, कला र संस्कृति सम्बन्धि अधिक जानकारी हासिल गर्न टेवा पुग्नेछ ।
पछिल्लो समय नेपाली विद्यार्थीहरुमाझ जापानिज भाषाको लोकप्रियता बढ्दै गएको भन्दै अध्यक्ष देवकोटाले प्रतियोगिताबाट दुई देशबीच पारस्पारिक सम्बन्धमा पनि थप प्रगाढ बनाउन मद्दत पुर्याएको बताए ।
काठमाडौंको अल्फा हाउसमा आयोजना गरिने प्रतियोगिताका विजेताहरुलाई विभिन्न पुरस्कारको पनि व्यवस्था गरिएको जाल्सानले जनाएको छ ।









प्रतिक्रिया