इक्यान निर्वाचनः साधारण सभामा खुला बहस हुनुपर्ने सरोज धितालको माग

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का साधारण सदस्य एवं मार्कलाइन एजुकेशनल कन्सल्टेन्सीका सीईओ सरोज धितालले भोली सोमबार हुने इक्यानको साधारण सभामा खुला बहस (ओपन हाउस डिवेट सेसन) अनिवार्य गर्न माग गरेका छन् । इक्यानको नयाँ कार्यसमिति चयनको संघारमा आइपुग्दा धितालले इक्यानको साधारण सभामा दुबै प्यानलका सबै उम्मेदवारहरू सहभागि खुला बहस गर्न माग गरेका हुन् ।

इक्यानका सम्पूर्ण सदस्यसामु उभिएर आफ्नो दृष्टिकोण, योजना र नेतृत्व क्षमता स्पष्ट राख्ने हिम्मत नै वास्तविक नेतृत्व भएको उनको भनाई छ । धितालले सामाजिक संजालमार्फत गम्भिर सन्देश प्रवाह गर्दै सदस्यसामु उभिन नसक्ने नेतृत्व स्वीकार्य नहुने भन्दै खुला बहस गर्न र लुकेर राजनीति नगर्न आग्रह गरेका छन् ।

‘वाचा होइन—विचार प्रस्तुत गरौँ, भनाइ होइन—उत्तरदायित्व देखाऔँ, साधारण सभामा उम्मेदवार होइन, विचारको चुनाव होस्,’ उनले भनेका छन् ।

धितालले दुवै प्यानलले एउटै मञ्चमा खुला बहस गर्न अनिवार्य भएको भन्दै नेतृत्व डराउँदैन—नेतृत्व बहस गर्छ, इक्यानका लागि स्पष्टता चाहियो, बहाना होइन भन्ने माग गरेका छन् ।

इक्यानको नयाँ कार्यसमिति चयनको लागि भोली सोमबार (पुस २८ गते) निर्वाचन हुँदैछ । यतिखेर परामर्श व्यवसायीहरु दुई कित्तामा विभाजित भएका छन् । वर्तमान प्रथम उपाध्यक्ष लक्ष्मण पौडेल ‘एन्ड्रयु’ र वर्तमान महासचिव दिपकराज भुसाल दुवैजना प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका छन् । यस्तो अवस्थामा सही नेतृत्व चयन गर्न एकै मञ्चबाट उम्मेदवारहरुको विचार र धारणाले आगामी दिनमा इक्यान कसरी ड्राईभ हुन्छ भन्ने खुला बहस गर्नुपर्ने धितालको धारणा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार