इक्यानको केन्द्रीय सदस्यमा संजीव पाण्डेको उम्मेदवारी घोषणा, कानुनी ज्ञान र व्यावसायिक अनुभवलाई उपयोग गर्ने

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी कार्यसमितिका लागि संजीव पाण्डेले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । यही पुस २८ गते हुन गइरहेको इक्यानको केन्द्रीय निर्वाचनका लागि दिपकराज भुसाल नेतृत्वको प्यानलबाट सदस्यको दावेदारी प्रस्तुत गर्दै पाण्डेले उम्मेदवारी घोषणा गरेका हुन् ।

पाण्डेले व्यावसायिक रूपमा विगत १२ वर्षदेखि शैक्षिक परामर्श व्यवसायमा सक्रिय रूपमा संलग्न हुँदै विद्यार्थीलाई दिइने परामर्श, अन्तर्राष्ट्रिय शिक्षा, कानुनी ज्ञानको प्रयोग तथा व्यवस्थापनमा व्यावहारिक अनुभव हासिल गरेको भन्दै यसलाई इक्यानको साझा उत्थानमा उपयोग गर्न सदस्यमा उम्मेदवारी दिने निर्णय गरेको बताए ।

स्टडी फर्स्ट प्रा लिका प्रबन्ध निर्देशकसमेत रहेका उनले शैक्षिक योग्यता, अध्ययन अनुसन्धान, कानुनी ज्ञान र व्यावसायिक अनुभवलाई उपयोग गर्दै इक्यानको अनुसन्धान तथा विकास विभागलाई सशक्त बनाउने, तथा विद्यार्थी अध्ययनसम्बन्धी तथ्य–आधारित नीति निर्माणको संस्थागत प्रयासलाई सरोकारवालासँग मिलेर ठोस योगदान पुर्‍याउने दृढ प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

‘आज विद्यार्थीहरूको विभिन्न देशतर्फ अध्ययनका लागि तीव्र रूपमा आकर्षण बढिरहेको सन्दर्भमा, शिक्षा क्षेत्रसँग जोडिएका हामी सबैलाई जिम्मेवार हुन अझ गम्भीर बनाएको छ,’ उनले भने, ‘सही मार्गदर्शन, कानुनी समझ र अनुभवी परामर्शमार्फत संस्थागत रुपमा विद्यार्थीहरूको भविष्य सुरक्षित गर्नु नै हाम्रो साझा प्रतिबद्धता हुनुपर्छ ।’

शिक्षा, अनुसन्धान र नीतिगत सुधारमार्फत शैक्षिक परामर्श क्षेत्रलाई सुदृढ बनाउने उद्देश्यका साथ इक्यानको केन्द्रीय कार्यसमिति सदस्यमा उम्मेदवारी प्रस्तुत गरेको भन्दै पाण्डेले इक्यानलाई अझ सशक्त, व्यवस्थित र सदस्यमैत्री बनाउदै सम्मानित एवं पेशागत मर्यादालाई कायम राख्न सम्पूर्ण क्यानियनहरुको साझा दायीत्व भएको बताएका छन् ।

सबैको साझा अभियानलाई मूर्त रुप दिन र परिवर्तनमुखी, जिम्मेवार र सशक्त इक्यानका लागि कार्यसमिति सदस्यमा विजयी गराउन पनि पाण्डेले आम सदस्यहरुलाई आफ्नो अमूल्य मत प्रदान गर्न अपिल गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार