इक्यान केन्द्रीय महासचिवमा भवनाथ हुमागाईंको उम्मेदवारी घोषणा

 

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को चुनाव हुने मिति सार्वजनिक भएसँगै इक्यानमा चुनावी सरमर्गी छाएको छ । व्यवसायीहरुले यही पुस २८ गते हुने इक्यानको केन्द्रीय निर्वाचनका लागि धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन् ।

यसै परिबेशमा हाल इक्यानका प्रथम सचिवको जिम्मेवारीमा रहेका भवनाथ हुमागाईंले आगामी कार्यसमितिका लागि औपचारिक रुपमै महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

‘अनुभव, निरन्तरता र स्पष्ट कार्यदिशासहित इक्यानलाई अझ बलियो, एकताबद्ध र सम्मानित संस्थाका रूपमा अगाडि बढाउने दृढ संकल्पका साथ म महासचिव पदका लागि उम्मेदवारी प्रस्तुत गर्दछु,’ उनले भनेका छन् ।

नेपालमा शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित, मर्यादित र सशक्त बनाउने साझा अभियानमा लामो समयदेखि निरन्तर रूपमा क्रियाशील रहेको उल्लेख गर्दै उनले महासचिवमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

हुमागाईंले शैक्षिक परामर्श व्यवसायमा प्रत्यक्ष संलग्न रहँदै इक्यानमा एक कार्यकाल सदस्य हुँदै प्रथम सचिवको रुपमा संगठन विभाग र आन्तरिक मामिला विभागको संयोजकको जिम्मेवारीसमेत कुशलता पूर्वक वहन गरेका छन् ।

संस्थागत सुदृढीकरणमा योगदान पुर्‍याउँदै आएका उनले इक्यानलाई अब रणनीतिक सोच, निर्णायक नेतृत्व र ७०० भन्दा बढी सदस्यहरूको भविष्य सुरक्षित गर्न सक्ने सक्षम नेतृत्वको आवश्यकता रहेको उल्लेख गरेका छन् । यसका लागि आम इक्यानियनहरुलाई सही नेतृत्व चयन गर्न उनले आग्रह गरेका छन्

महासचिवको भूमिका औपचारिक जिम्मेवारी मात्र नभई संस्थागत सदस्यहरूको सुरक्षा, शाखाहरूको सशक्तीकरण र संस्थाको गरिमा बोक्ने प्रत्यक्ष जिम्मेवारी रहेको हुमागाईंले बताए । ‘हामीले इक्यानमा एउटा यस्तो ‘प्रोफेसनल इकोसिस्टम’ निर्माण गर्नुछ, जहाँ नयाँ उद्यमीदेखि स्थापित व्यवसायीसम्म सबैको भविष्य सुनिश्चित होस्,’ उनले भने, ‘राज्यले पनि परामर्श क्षेत्रलाई हेर्ने दृष्टिकोण नियमनकारी मात्र नभई, एउटा अपरिहार्य ‘नलेज पार्टनर’का रूपमा स्थापित गर्न पनि मेरो योगदान रहने छ ।’

हुमागाईंले आफु सचिव रहँदा गरेका कार्यहरुलाई पनि बुँदागत रुपमा प्रस्तुत गरेका छन्:

इक्यान केन्द्र र जिल्ला शाखाबीच प्रभावकारी समन्वय र एकीकृत कार्यप्रणाली स्थापना
केन्द्र र शाखाबीचको दूरी घटाउँदै नियमित संवाद, नीतिगत स्पष्टता र साझा कार्ययोजना निर्माणमा सक्रिय भूमिका निर्वाह गरेको छु। यसले संगठनभित्र एकरूपता, विश्वास र कार्यान्वयन क्षमता बढाउन सहयोग पुर्याएको छ ।
• शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा लामो समयदेखि अवरुद्ध शैक्षिक परामर्श व्यवसाय नवीकरण प्रक्रिया पुनः सुचारु गर्न अग्रणी भूमिका
सम्बन्धित मन्त्रालयसँग निरन्तर संवाद, दस्तावेजी समन्वय र संस्थागत पहलमार्फत शैक्षिक परामर्श व्यवसायको नवीकरण प्रक्रियालाई पुनः सक्रिय बनाउन निर्णायक भूमिका खेलेको छु, जसले सदस्यहरूको व्यवसायिक सुरक्षामा ठोस आधार तयार गरेको छ ।
• दुई नयाँ शाखा र एक समन्वय केन्द्र स्थापना मार्फत संगठन विस्तार
भौगोलिक पहुँच विस्तार गर्दै नयाँ शाखा र समन्वय केन्द्र स्थापना गरी इक्यान लाई थप समावेशी, प्रतिनिधिमूलक र सशक्त संस्थाको रूपमा विस्तार गर्न योगदान पुर्याएको छु ।
• इक्यानको सदस्यता विस्तार तथा आजीवन सदस्यता प्रवर्द्धनमा सक्रिय योगदान
संस्थाप्रति विश्वास बढाउने नीति, सदस्य-मैत्री पहल र प्रत्यक्ष संवादमार्फत नयाँ सदस्य भित्र्याउने तथा आजीवन सदस्यता प्रवर्द्धन गर्दै संस्थाको दीर्घकालीन स्थायित्वमा योगदान दिएको छु ।

उनले महासचिवमा उम्मेदवारी घोषणा गरेसँगै आगामी कार्यकालका लागि एजेण्डासमेत सार्वजनिक गरेका छन्:

• केन्द्र–शाखा समन्वयलाई संस्थागत र परिणाममुखी बनाउने
केन्द्र र शाखाबीच स्पष्ट अधिकार क्षेत्र, नियमित समन्वय संयन्त्र र कार्यसम्पादनमा आधारित प्रणाली विकास गरी संगठनलाई व्यवहारिक रूपमा बलियो बनाउने प्रतिबद्धता गर्दछु।
• राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रभावकारी Policy Advocacy
शैक्षिक परामर्श व्यवसायसँग सम्बन्धित नीति निर्माण, संशोधन र कार्यान्वयन प्रक्रियामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला निकायहरूसँग समन्वय गरी ECAN को आवाजलाई प्रभावकारी रूपमा स्थापित गर्नेछु।
• सरकार तथा सरोकारवाला निकायसँग ECAN को संस्थागत हैसियत मजबुत बनाउने
मन्त्रालय, नियामक निकाय, कूटनीतिक मिशन र अन्तर्राष्ट्रिय साझेदारहरूसँग संस्थागत सम्बन्ध विस्तार गरी ECAN लाई नीतिगत साझेदारको रूपमा स्थापित गर्ने लक्ष्य लिएको छु।
• पारदर्शी, उत्तरदायी र आर्थिक रूपमा सबल संस्था निर्माण
नियमित प्रतिवेदन र सदस्यलाई जानकारी दिने अभ्यासमार्फत संस्थामा सुशासन र आर्थिक स्थायित्व सुनिश्चित गर्नेछु।
• युवा तथा नयाँ शैक्षिक परामर्श उद्यमीलाई समेट्ने दीर्घकालीन रणनीति
नयाँ पुस्ताका व्यवसायीलाई मार्गदर्शन, क्षमता विकास र संस्थागत सहभागितामार्फत ECAN भित्र अवसर र नेतृत्व विकास गर्ने स्पष्ट योजना कार्यान्वयन गर्नेछु।
• Multi-destination Educational Student Mobility मा रणनीतिक रूपमा काम गर्न
विद्यार्थी गन्तव्य विविधीकरण, नयाँ अध्ययन बजारको पहिचान, अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य र सदस्यहरूको व्यवसायिक अवसर विस्तार गर्ने रणनीतिमा ECAN लाई अग्रसर बनाउनेछु।

 

प्रतिक्रिया

सम्बन्धित समाचार