ब्रह्म कमल, यो फूल फुल्ने एक दुर्लभ बनस्पति हो | यसलाई हिमालय तथा उच्च पहाडी भूभागमा अर्थात ३७००- ४६०० मिटरको उचाइमा नेपाल, भारत, भुटान,पाकिस्तान,अफगानिस्तान, दक्षिण पश्चिम चिनमा पाइन्छ | यस पुष्पलाई ब्रम्हाको कमलको रुपमा चिनिन्छ साथै हेर्दा तारा जस्तै चम्किलो र आकर्षक हुन्छ | यो बनस्पति वैज्ञानिक बर्गिकरण का अनुसार दुईदलिय, फूल फुल्ने बनस्पति एस्टेरिड्स प्राकृतिक समूहको एस्टेरालेस गण भित्र एस्टेरेसिया परिवारमा सौसुरिया वंश अन्तर्गत सौसौरिया ओभालाटा प्रजातिको वैज्ञानिक नाम वाट परिचित छ | यसको २१० प्रजाति पाइन्छ | यसको बोट ७०-८० से.मी. अग्लो हुन्छ | प्राय: यो फूल श्रावण महिना देखि अशोज महिना भरिमा फुल्ने गर्दछ | यो फूल रातको ९.00 – १.00 वजे सम्म फुल्दछ भने १ रात सम्म मात्र रहन्छ | एक वर्षमा एक पटक राति मात्र फूल्छ । श्रावण देखि अशोज महिना भित्र जहिले पनि फूल्न सक्दछ। तेसैले यसलाई दुर्लभ फूल मानिन्छ। यो फूल अन्य कमल फूलहरु जसरि पानी हीलो माथि उत्पन्न नभई जमीनमा पाईनु नै यसको खास पृथक विशेषता मानिन्छ | मुख्यतया: यो सेतो, गुलावी, रातो एवं वैजनी रंगमा पाइन्छ | सेतो रंगको कमलको फूललाई नै ब्रम्ह कमल मानिन्छ | ठाउँ अनुसार यसलाई रातमा फुल्ने रानी फूल, जंगल कैक्टस, कडफूल, दुधफूल आदि नामबाट चिनिन्छ | यो फूल फुल्दा पुरै वातावरण सुगन्धमय हुने गर्दछ |
धार्मिक मान्यता
हिन्दु धर्मको विभिन्न ग्रन्थमा उल्लेख भए अनुसार ब्रम्हाले आसन गर्ने कमल जस्तै हुनाले ब्रम्हाको नाम संग जोडिएर ब्रह्म कमल नाम रहेको भनिन्छ | झट्ट हेर्दा त्रिशुलको आकृति जस्तो देखिने यो फूल देवादी देव महादेवलाई अति प्रिय भएको मान्यता रहेको छ | पद्मकल्प पुराणमा बताइए अनुसार भगवान विष्णुले महादेवलाई चढाउँन भनेर १000 वटा श्वेत पद्म पुष्प (सेतो कमलको फूल) लिएर हिमालय पर्वतमा पुग्नु भएको थियो र चढाउँन लाग्दा सो समयमा एउटा कमल फूलको कमी भयो तव विष्णुले आफ्नो एउटा आँखा सो फूलको सट्टामा समर्पित गर्नु भयो |
भगवान विष्णुले कमलको सट्टामा आफ्नो आँखा नै चढाउनु भएको हुँदा उहाँलाई कमल नयन र शिवलाई कमलेश्वर भनिने गरिन्छ | शिव भगवानलाइ ब्रम्ह कमलको स्थानमा विष्णु भगवानले आफ्नो आँखालाई समर्पित गर्नु भएको र तत्क्षणमै महादेव प्रसन्न हुँदै सस्वरूप प्रकट भई भगवान विष्णुलाई सुदर्शन चक्र प्रदान गर्नु भएको वृतान्त पनि पाइन्छ | तत्पश्चात भगवान विष्णुको आँखाको स्थानमा ब्रह्म फूलको उत्पत्ति भएको मानिन्छ |
यहि कथाको आधारमा यदि यो फूल महादेवलाई चढायो भने उहाँ तुरुन्त नै प्रसन्न हुनुहुन्छ भन्ने वर्णन पनि पाइन्छ | यसै गरि महाभारतमा द्रौपदीले आफ्ना पति भीम संग ब्रह्म फूल ल्याउन आग्रह गरे पछि भीमले बद्रिनाथ क्षेत्रमा गई तहाँ हनुमानजी संग भेट भए पश्चात उक्त फूल रानी द्रौपदीलाई ल्याई दिएको प्रसंग पनि पाइन्छ | ब्रम्ह कमल फूललाई नै ब्रम्ह शक्तिको रूप मानि पुजा गर्ने प्रचलन पनि रहेको पाइन्छ |
ब्रम्हमुहर्तंमा उठि दैनिक स्नान आदि कर्म गरि यस फूललाई उत्तर दिशा तर्फ पारि सफेद आसनमा बसि श्रध्दा, विश्वास ,भक्ति, प्रेमका साथ चार पटक ॐ शव्दका उच्चारण गरि “श्वेत पद्मासना देवी,श्वेत रुप धारिणी | वुद्धि देहिमे देवी, ब्रह्म वादिनी नमस्तुते ||” मन्त्रका साथ जप मालाको चार पटक जपि दैनिक उपासना गर्नाले धी, धृति, स्मृति,श्री, सम्पति प्राप्त हुने कुरा ब्रह्म कल्पमा उल्लेख भएको पाइन्छ |
गोपिनी, योगिनी, अप्सरा, दश विद्या साधनाको समयमा यस फूललाई विभिन्न तवरवाट उपासकले प्रयोग गर्ने विधिका संबन्धमा अनेक भनाईहरु पाइन्छन | नन्दाष्टमीका दिनमा नन्दा देवीको पुजामा साथै केदारनाथ, बद्रीनाथ, तुंगनाथ भगवानको दैनिक पुजा गर्दा पनि यो फूल चढाउने प्रचलन रहेको पाइन्छ | यसको प्राचिन कालका वेद,पुराण,माहाभारत आदिमा सौगंधिक पुष्पको नाम वाट बर्णन गरेको पाइन्छ |
आयुर्वेद उपचारमा प्रयोग
· कमलको फूलमा एन्टीसेप्टिक गुण हुने भएकोले यसलाई नंया घाउ,चोटपटक तथा अन्य घाउ खटिराको उपचारमा यसको पत्र तथा फूलको लेप बनाइ लगाइन्छ |
· यो फूलमा ज्वरनाशक तत्व पाइने हुँदा कुनै पनि ज्वरो आएको वेलामा यसको पत्र स्वरस वा सुकेको फूलको काँडा बनाई सेवन गर्नाले ज्वरो निको भएर जान्छ |
· यो फूलमा अनेक प्रकारका एन्टीअक्सिडेन्ट तत्वहरु जस्तै फ्लेवोनाईज्ड,अल्कलाइड,सैपोनिंस आदि पाइन्छ | यो फूलको सेवन गर्दा यि तत्वहरुको सहायताले मानिसको शरीरमा भएका कोशिकाहरु मजवुत भै शरीर स्वस्थ राख्दछ |
· यो फूलमा सर्पको टोकाइमा सर्पको विषहरण अर्थात सर्प बिष विरुध्द काम गर्न सक्ने क्षेमता भएको हुँदा यसको पत्र वा पुष्पको लेप द्वारा उपचार गरिन्छ |
· यो फूलमा एण्टिइन्फ्लामेटोरी र एण्टिमाइक्रोवियल तत्व पाइने भएकोले श्वास प्रश्वास प्रणालीमा हुने दम, ब्रोंकाइटिस,फ्यारिन्जाइटिस,रुघाखोकि,पुरानो खोकी आदिमा यसको पत्र एवं फूलको स्वरस वा कांडाको सेवन गरिन्छ |
· मानिसको शरिरमा हुने रक्तश्रावलाई रोक्न सक्ने गुण भएकोले यो फूलको पत्र एवं पुष्प द्वारा निर्मित लेपको प्रयोग गरिन्छ |
· अश्टोप्रोसिस,अर्थ्राइटिस आदि वातजन्य रोगहरु लाग्दा यो फूलमा पाइने एण्टिइन्फ्लामेटोरी र एण्टिमाइक्रोवियल तत्व गुणका कारण यसको सुकेको फूलको काँडा बनाएर सेवन गराइन्छ |
· यो फूलको अर्वुद (क्यान्सर) रोगमा आभ्यान्तर तथा वाह्य उपचारका लागि प्रयोग गरिन्छ |
· शरीरमा ग्लानि तथा थकावट हुँदा यो फूलको पत्रवाट निस्किएको पानीको थोपालाई पिउनाले तुरुन्त स्फुर्तिको प्राप्ति हुन्छ |
· प्लेग, औंलो, कलेजो तथा मुटु संबन्धि रोगमा उपचारका लागि यस फूलको स्वरस, कांडाको प्रयोग गरिन्छ |
( आयुर्वेद चिकित्सामा औषधिका रुपमा प्रयोग हेतु १७४ थरिका फर्मूलेशन भएको पाइन्छ )
प्रयोग मात्रा
स्वरस : १०-२० मि.लि (आवश्यकतानुसार )
काँडा : ६०-८० मि.लि (आवश्यकतानुसार )







प्रतिक्रिया