विपद्मा खटिएको नेपाली सेना  : ८ हजार ९ सय सैनिकबाट चार हजार बढीको उद्धार र सुरङभित्र  खोज जारी

लगातारको बाढी, पहिरो र विपद्‌बाट प्रभावित रसुवा र नुवाकोटसहितका क्षेत्रमा खोजी, उद्धार तथा राहत कार्यका लागि नेपाली सेनाका ८ हजार ९ सयभन्दा बढी जनशक्ति प्रत्यक्ष रूपमा मैदानमा खटिएका छन्। नेपाली सेना, स्थानीय प्रशासन र विदेशी प्राविधिकको संयुक्त टोलीले हवाई तथा जमिन दुवै मार्गबाट उद्धार तीव्र बनाउँदै मुख्य जलविद्युत् आयोजनाका सुरङ (टनेल) हरूमा खोजी कार्यलाई केन्द्रित गरेको छ।

सोमबार मात्रै नेपाली सेनाको हेलिकप्टरमार्फत थप २० जनाको सकुशल उद्धार गरिएको छ। योसँगै विपद्‌ग्रस्त क्षेत्रबाट हालसम्म स्वदेशी ३,८९४ र विदेशी २८३ गरी कुल ४ हजार १ सय ७७ जनाको उद्धार भइसकेको छ।

सुरङ र पावरहाउसमा अत्याधुनिक प्रविधि र डोजरको प्रयोग भौगोलिक रूपमा अत्यन्तै जटिल मानिएका जलविद्युत् आयोजनाहरूमा आधुनिक प्रविधि र heavy equipment को प्रयोग गरी खोजी अघि बढाइएको छ:

चिलिमे हाइड्रो: आयोजनाको सुरङभित्र थुप्रिएको करिब १०० मिटर लेदो र गेग्रान एक्साभेटर तथा लोडरको सहयोगमा हटाइएको छ। सुरङभित्र भरिएको पानी बाहिर निकाल्दै सैनिक उद्धार टोली डोरीको सहारामा भित्र छिर्ने प्रयास गरिरहेको छ। यसैबीच, आवतजावत सहज बनाउन तुइन जडान गरिएपछि स्याफ्रुबेसी र धुन्चेबीचको सम्पर्क जोडिएको छ।

लाङ्गटाङ्ग जलविद्युत्: विदेशी प्राविधिकसहितको टोलीले ड्रोन प्रविधिको प्रयोग गरी सुरङभित्र खोजी जारी राखेको छ।

त्रिशूली ३A, ३B र अन्य आयोजना: त्रिशूली-३B मा एक्साभेटर प्रयोग गरी आवास गृह, कार्यालय भवन र पावरहाउस क्षेत्र सफा गर्दै खोजी भइरहेको छ भने रसुवागढी, माथिल्लो त्रिशूली-१ र त्रिशूली-३A मा पनि संयुक्त टोली निरन्तर खटिएको छ।

रसुवादेखि नवलपरासीसम्म उद्धार र सैनिक स्वास्थ्य सेवा रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी (पूर्व) सम्म नेपाली सेनाका फौजले घाइतेको उद्धार, शव व्यवस्थापन, राहत सामग्री ढुवानी र अवरुद्ध सडक खुलाउने काम गरिरहेका छन्।

त्रिशूली र धुन्चेमा स्थापना गरिएका सैनिक आपत्कालीन उपचार केन्द्र तथा मेडिकल टोलीबाट सोमबार ३१ जनाले उपचार पाएका छन्। योसँगै हालसम्म ३,७८४ जना प्रभावितले प्रत्यक्ष स्वास्थ्य सेवा प्राप्त गरिसकेका छन्। त्यसैगरी, स्थानीय तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ्ग, कालिकास्थान, मान्चेत र स्याफ्रुबेसी क्षेत्रमा पैदल गस्ती टोलीले खोजी कार्य जारी राखेका छन्।

पृथ्वी राजमार्ग खुलाउन ब्लास्टिङ बाढीका कारण धादिङको रोराङ गाउँपालिका-३ स्थित शीतल बजारमा भासिएको पृथ्वी राजमार्ग सुचारु गर्न नेपाली सेनाले कडा चट्टान फुटाउने काम सुरु गरेको छ। सडकको भित्तातर्फ रहेको पहाड कटानी गर्न ब्लास्टिङ (विस्फोट) को प्रयोग गरी द्रुत गतिमा सडक खुलाउने प्रयास भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार