शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बाढीबाट प्रभावित विद्यालय तथा शैक्षिक पूर्वाधारको अवस्था बुझ्न नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अनुगमन गरेका छन्।
मन्त्री पोखरेल नेतृत्वको टोलीले आज नुवाकोटका विभिन्न शैक्षिक संस्था तथा पूर्वाधारको निरीक्षण गर्दै बाढीका कारण विद्यालय भवन, शैक्षिक सामग्री तथा पठनपाठनमा परेको प्रभावबारे जानकारी लिएको हो। अनुगमनका क्रममा उनले स्थानीय तहका प्रमुख, जनप्रतिनिधि तथा अन्य सरोकारवालासँग प्रभावित विद्यालयको अवस्था र विद्यार्थीको सिकाइ निरन्तरताका विषयमा छलफल गरे।
अनुगमन टोलीमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिना, स्थानीय सरकारका प्रमुख तथा अन्य जनप्रतिनिधिको सहभागिता थियो। टोलीले शिक्षा विकास तथा समन्वय इकाइ, विदुरबाट अनुगमन सुरु गरी त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको पुलवारी क्षेत्र हुँदै बाढी प्रभावित स्थानको निरीक्षण गरेको थियो।
त्यस क्रममा न्यूरेनी सुन्दरी माध्यमिक विद्यालयमा रहेको होल्डिङ सेन्टर, सामुदायिक बहुउद्देश्यीय भवन, विदुरस्थित नुवाकोट दरबार, कर्भट हल, चन्द्रज्योती माध्यमिक विद्यालय तथा अन्नपूर्ण पञ्चकन्या आधारभूत विद्यालयको भवनको समेत अनुगमन गरिएको थियो।
स्थलगत निरीक्षणका क्रममा बाढीबाट शैक्षिक संस्थाका भवन तथा अन्य पूर्वाधारमा भएको क्षति, विद्यालय सञ्चालनको अवस्था र विद्यार्थीको पठनपाठनमा परेको असरबारे जानकारी लिइएको थियो। प्रभावित विद्यालयको पुनः सञ्चालन तथा विद्यार्थीको शैक्षिक गतिविधि सहज बनाउन आवश्यक पहल गर्ने विषयमा मन्त्री पोखरेलले स्थानीय तह तथा सरोकारवालासँग छलफल गरे।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका १५ स्थानीय तह प्रभावित भएका थिए। सरकारले ती स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।
प्रारम्भिक विवरणअनुसार बाढीबाट रसुवा, नुवाकोट र धादिङका १९ विद्यालय पूर्ण तथा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। बाढीका कारण १६ जना शिक्षक र २१७ जना विद्यार्थी सम्पर्कविहीन रहेको तथा ९ हजार ७४२ विद्यार्थीको सिकाइ प्रभावित भएको विवरणमा उल्लेख छ।








प्रतिक्रिया