इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले बाढी तथा पहिरो प्रभावित नागरिकको राहत, उद्धार र पुनर्स्थापनाका लागि १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।
कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो। वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर सहयोग रकम हस्तान्तरण गरे।
हालैको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकलाई राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले उक्त रकम प्रदान गरेको जनाएको छ।
विपद्का कारण वर्ल्डलिंकको नेटवर्क तथा विभिन्न पूर्वाधारमा समेत क्षति पुगेको कम्पनीले जनाएको छ। प्रारम्भिक विवरणअनुसार बाढी तथा पहिरोबाट कम्पनीको करिब ३ करोड ५० लाख रुपैयाँ बराबरको प्रत्यक्ष भौतिक क्षति भएको छ।
आफ्नै पूर्वाधारमा ठूलो क्षति पुगे पनि प्रभावित क्षेत्रमा इन्टरनेट सेवा यथाशीघ्र सञ्चालनमा ल्याउन कम्पनीले प्राथमिकता दिएको जनाएको छ। बाढी आएको तीन दिनभित्रै प्रभावित नेटवर्कको मर्मत तथा पुनर्स्थापना गरी सेवा सञ्चालनमा ल्याइएको वर्ल्डलिंकको दाबी छ।
सडक, विद्युत् तथा अन्य आवश्यक पूर्वाधारमा समेत क्षति पुगेका कारण सेवा पुनर्स्थापनामा चुनौती रहे पनि कम्पनीका प्राविधिक तथा सम्बन्धित टोलीहरू प्रभावित क्षेत्रमा परिचालन गरिएको वर्ल्डलिंकले जनाएको छ।
विपद्का समयमा इन्टरनेट सेवा सूचना आदानप्रदान, राहत तथा उद्धारसम्बन्धी समन्वय र आपत्कालीन सञ्चारका लागि महत्वपूर्ण माध्यम बन्ने भएकाले सेवा निरन्तर राख्न कम्पनीले विशेष प्राथमिकता दिएको जनाएको छ। प्रभावित क्षेत्रमा सेवा पुनर्स्थापनासँगै सामाजिक उत्तरदायित्वअन्तर्गत राहत तथा पुनर्स्थापनाका लागि आर्थिक सहयोग गरिएको कम्पनीको भनाइ छ।








प्रतिक्रिया