नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग गरेको छ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो। भदौ १० गते केरुङ, रसुवा र टिमुरेलगायत क्षेत्रमा आएको आकस्मिक तथा भीषण बाढीबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम उपलब्ध गराइएको नाडाले जनाएको छ।
नाडाले आर्थिक सहयोगमा मात्र आफ्नो अभियान सीमित नराखी प्रभावित क्षेत्रमा प्रत्यक्ष पुगेर राहत वितरणसमेत गरिरहेको जनाएको छ। नाडाको टोलीले प्रभावित नागरिकको तत्कालीन आवश्यकता पहिचान गरी खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्री वितरण गरिरहेको छ।
विपद्को समयमा प्रभावित नागरिकको पीडामा साथ दिनु सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा भएको उल्लेख गर्दै नाडाले राहत तथा मानवीय सहयोगलाई निरन्तरता दिने जनाएको छ। बाढीबाट प्रभावित नागरिकलाई तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराउनेदेखि राहत तथा पुनःस्थापनाका प्रयासमा सहयोग पुर्याउने कामलाई प्राथमिकतामा राखिएको नाडाको भनाइ छ।
अर्थमन्त्रीसँगको भेटमा नाडाका उपाध्यक्ष विक्रम सिंघानिया, महासचिव मिलनबाबु मल्ल, सचिव मेघराज पौडेल तथा सहकोषाध्यक्ष निलमणि पाठकलगायतको उपस्थिति रहेको थियो।






प्रतिक्रिया