विपद्का कारण उत्पन्न विषम परिस्थितिबाट अत्यावश्यक सामग्रीको ढुवानी तथा आपूर्ति कार्यमा परेको असहजतालाई मध्यनजर गर्दै नेपाल चेम्बर अफ कमर्सले सहजीकरण डेस्क स्थापना गरेको छ।
चेम्बरले जमलस्थित आफ्नो सचिवालयमा सहजीकरण डेस्क स्थापना गरेको हो। पृथ्वी राजमार्गलगायत देशका केही महत्वपूर्ण सडक सञ्जाल अवरुद्ध हुँदा उद्योगी व्यवसायीलाई अत्यावश्यक सामग्रीको ढुवानी तथा आपूर्ति व्यवस्थापनमा समस्या उत्पन्न भएपछि त्यसलाई सहज बनाउन डेस्क स्थापना गरिएको चेम्बरले जनाएको छ।
सहजीकरण डेस्कमार्फत राहत तथा अत्यावश्यक सामग्रीको ढुवानीका क्रममा देखिन सक्ने सम्भावित समस्या समाधानका लागि सम्बन्धित सरकारी निकाय, स्थानीय प्रशासन, सुरक्षा निकाय, व्यावसायिक प्रतिष्ठान तथा ढुवानी व्यवसायीसँग आवश्यक समन्वय गरिनेछ। सडक अवरोध, सुरक्षा तथा प्रशासनिक प्रक्रियाका कारण ढुवानीमा समस्या परेमा सम्बन्धित निकायसँग समन्वय गरी तत्काल समाधान खोज्ने उद्देश्य चेम्बरको छ।
त्यसैगरी अत्यावश्यक सामग्री बोकेका सवारीसाधनलाई सम्भव भएसम्म सहज रूपमा आवागमन गर्न आवश्यक सहजीकरण गरिने चेम्बरले जनाएको छ। विपद्को समयमा खाद्यान्न, स्वास्थ्य सामग्री, राहत सामग्रीलगायत अत्यावश्यक वस्तुको आपूर्ति प्रभावित नहोस् भन्ने उद्देश्यले निजी क्षेत्रबाट पनि समन्वय र सहजीकरणलाई प्राथमिकता दिइएको चेम्बरको भनाइ छ।
यसअघि पनि नेपाल चेम्बर अफ कमर्सले भोटेकोसी बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री संकलन तथा वितरण गर्नुका साथै उद्धार र सुरक्षा व्यवस्थापनमा सहयोग गर्दै आएको छ। चेम्बरले राहत सामग्री सरकारलाई हस्तान्तरण गर्नुका साथै प्रभावित क्षेत्रमा आवश्यक सहयोग पुर्याउँदै आएको जनाएको छ।
विपद्का कारण सडक तथा यातायात सञ्जालमा अवरोध हुँदा राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याउन चुनौती बढिरहेका बेला चेम्बरले स्थापना गरेको सहजीकरण डेस्कले निजी क्षेत्र, सरकारी निकाय र ढुवानी व्यवसायीबीच समन्वय गरी अत्यावश्यक वस्तुको आपूर्ति प्रणालीलाई सहज बनाउन भूमिका खेल्ने अपेक्षा गरिएको छ।






प्रतिक्रिया