अर्थमन्त्री वाग्लेद्वारा नेपालमै निर्मित ‘यात्री पी–२’ सार्वजनिक

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै डिजाइन तथा निर्माण गरिएको विद्युतीय स्कुटर ‘यात्री पी–२’ सार्वजनिक गरेका छन्। सिप्रदी यात्री कम्पनीले नेपालमै उत्पादन गरेको स्कुटर सार्वजनिक गर्दै अर्थमन्त्री वाग्लेले स्वदेशमै विश्वस्तरीय विद्युतीय सवारीसाधन निर्माण हुनु राष्ट्रिय आत्मविश्वास बढाउने महत्वपूर्ण उपलब्धि भएको बताए।

सोमबार आयोजित कार्यक्रममा स्कुटर सार्वजनिक गर्दै अर्थमन्त्री वाग्लेले नेपालमा केही हुँदैन भन्ने निराशावादी भाष्यलाई स्वदेशमै निर्माण भएका यस्ता उत्पादनले चुनौती दिएको बताए।

“बुढानीलकण्ठमा डिजाइन गरिएको र धादिङमा उत्पादन हुने विश्वस्तरीय स्कुटर नेपालमै बन्यो। नेपालमा केही हुँदैन भन्नेहरूका लागि यो ‘नेपालमा बबालै हुन्छ’ भन्ने सन्देश हो,” उनले भने।

नेपालमै डिजाइनदेखि उत्पादनसम्मको काम सम्पन्न हुनु नेपाली उद्यमशीलता र प्राविधिक क्षमताको उदाहरण भएको भन्दै उनले यात्री पी–२ ले राष्ट्रिय आत्मविश्वाससमेत बढाएको बताए।

अर्थमन्त्री वाग्लेले नेपालमा उत्पादन भएको यात्री विद्युतीय स्कुटरले अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धा गर्न सक्ने गरी विकास होस् भन्ने शुभकामना दिए। उनले स्कुटरलाई विश्व बजारमा विस्तार गर्न कम्पनीलाई सफलता मिलोस् भन्दै आगामी दिनमा नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउनुपर्नेमा जोड दिए।

नेपालमै बनेको गुणस्तरीय विद्युतीय सवारीसाधनको विस्तारका लागि सरकारले आवश्यक सहयोग र संरक्षण गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे। स्वदेशी उत्पादनको प्रवद्र्धन, प्रविधिको विकास र औद्योगिक क्षमता विस्तारका लागि राज्यले अनुकूल वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ थियो।

सिप्रदी यात्री कम्पनीले उत्पादन गरेको यात्री पी–२ लाई नेपाली प्रविधि, डिजाइन र उत्पादन क्षमताको प्रतिनिधित्व गर्ने विद्युतीय सवारीसाधनका रूपमा प्रस्तुत गरिएको छ। नेपालमै डिजाइन र निर्माण भएका यस्ता उत्पादनले विद्युतीय सवारीसाधनको बढ्दो बजारसँगै स्वदेशी औद्योगिक क्षमता र रोजगारी विस्तारमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

अर्थमन्त्री वाग्लेको भनाइले पनि नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढिरहेको अवस्थामा आयातमा मात्र निर्भर नभई स्वदेशमै डिजाइन, प्रविधि विकास र उत्पादन गर्ने क्षमता विस्तार गर्नुपर्ने आवश्यकतालाई थप जोड दिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार