नेपालमा अटोमोबाइल क्षेत्रले पाँच दशकको यात्रामा ठूलो परिवर्तन हासिल गरेको छ। सन् १९७७ मा नेपालभर एक वर्षमा जम्मा ८०१ वटा नयाँ सवारीसाधन दर्ता भएका थिए। अहिले देशभर दर्ता भएका सवारीसाधनको संख्या करिब ५५ लाख पुगेको छ। नयाँ दर्ता हुने सवारीसाधनमध्ये करिब ८४ प्रतिशत मोटरसाइकल छन्।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अनुसार यी तथ्याङ्कले नेपाली समाजमा सवारीसाधनको पहुँच र प्रयोगमा आएको परिवर्तनलाई स्पष्ट देखाउँछन्। पाँच दशकअघि सीमित व्यक्तिको पहुँचमा रहेको अटोमोबाइल अहिले आम नेपालीको दैनिक जीवन, व्यवसाय र अर्थतन्त्रको महत्वपूर्ण हिस्सा बनेको छ।
अटोमोबाइल क्षेत्रको विस्तारले राज्यको राजस्वमा समेत उल्लेख्य योगदान पुर्याएको छ। पछिल्ला पाँच आर्थिक वर्षमा नेपालले करिब ४७० अर्ब रुपैयाँ बराबरका सवारीसाधन तथा अटोमोबाइलसम्बन्धी सामग्री आयात गरेको छ। यसबाट करिब ३५१ अर्ब रुपैयाँ भन्सार राजस्व संकलन भएको छ। पछिल्लो एक आर्थिक वर्षमा मात्रै यस क्षेत्रबाट राज्यले ७५ अर्ब रुपैयाँभन्दा बढी राजस्व प्राप्त गरेको छ।
तर अटोमोबाइल क्षेत्रको योगदान राजस्व र आयातको तथ्याङ्कमा मात्रै सीमित छैन। देशभर विस्तार भएको डिलर तथा सर्भिस नेटवर्क, पार्ट्स र आफ्टरमार्केटको आपूर्ति शृंखला, तालिमप्राप्त मेकानिक तथा प्राविधिक जनशक्ति, अटो फाइनान्स, सवारी बीमा र सवारीसाधनसँग सम्बन्धित नीति निर्माणमा निजी क्षेत्रको निरन्तर सहभागिताले छुट्टै औद्योगिक तथा सेवा संरचना निर्माण गरेको छ।
नाडाको पचासौँ स्थापना वर्षलाई लक्षित गर्दै आयोजना हुन लागेको नाडा अटो शो २०२६ मा भने नेपाली अटोमोबाइल क्षेत्रको अर्को महत्वपूर्ण पक्षलाई समेत प्राथमिकता दिइएको छ। स्वर्ण जयन्ती संस्करणमा ‘मेड इन नेपाल / मेड फर नेपाल’ नामक विशेष प्याभिलियन राखिने भएको छ। उक्त प्याभिलियनमा नेपालमै उत्पादन वा एसेम्बल गरिएका सवारीसाधन तथा अटोमोबाइलसम्बन्धी सामग्री प्रदर्शन गरिनेछन्।
प्याभिलियनमा करिब आठ नेपाली उत्पादकको सहभागिता रहने बताइएको छ। यसमा विद्युतीय मोटरसाइकल, अटोमोटिभ ब्याट्री, ल्युब्रिकेन्ट र हेलमेट उत्पादन गर्ने कम्पनीहरू रहनेछन्। यात्री, एसियन ब्याट्रिज, कोहिनूर प्लास्टिक इन्डस्ट्रिज, नेपाल ल्युब आयल र पूर्वाञ्चल ल्युब आयललगायतका नेपाली उत्पादक सहभागी हुने तयारी छ। यद्यपि अन्तिम सूची नाडा सचिवालयबाट पुष्टि हुन बाँकी छ।
नाडाले नेपाल अहिले नै अटोमोबाइल उत्पादनमा आत्मनिर्भर भइसकेको दाबी नगरे पनि स्वदेशी उत्पादनको सुरुआतलाई महत्वपूर्ण परिवर्तनका रूपमा लिएको छ। करिब दुई सय स्टल रहने अटो शोमा ‘मेड इन नेपाल’ प्याभिलियन आकारका हिसाबले सानो भए पनि पाँच दशकअघिको नेपालसँग तुलना गर्दा यसको अर्थ ठूलो रहेको नाडाको भनाइ छ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले नेपाल गाडी आयात गर्ने देशमा मात्रै सीमित नरहेको बताए।
“हामीले दिन खोजेको सन्देश यही हो—नेपाल अब गाडी आयात गर्ने देशमा मात्र सीमित छैन । हामी बिस्तारै आत्मनिर्भरता र स्वदेशी उद्योगतर्फ बढिरहेका छौं,” उनले भने।
नेपालको अटोमोबाइल बजारमा विदेशी ब्रान्डको लामो उपस्थितिले पनि यो क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेलेको छ। सुजुकी र टाटा जस्ता ब्रान्ड दशकौंदेखि नेपाली सडकमा प्रयोग हुँदै आएका छन्। लामो समयदेखि कायम रहेको डिलर नेटवर्क र ग्राहकसँगको सम्बन्धका कारण कतिपय परिवारले एउटै डिलरबाट पुस्तौँसम्म सवारीसाधन खरिद गर्दै आएका छन्।
नाडाका अनुसार पाँच दशकअघि नेपालमा सवारीसाधन आयात गर्ने व्यवसायीहरूको प्रतिनिधिमूलक संस्थाका रूपमा स्थापना भएको संगठन अहिले आयातकर्तासँगै एसेम्बलर, वित्तीय सेवा प्रदायक, बीमा कम्पनी, सर्भिस तथा पार्ट्स व्यवसाय र स्वदेशी उत्पादकलाई समेट्ने चरणमा पुगेको छ।
यस अर्थमा नाडाको पचास वर्षको यात्रा केवल एउटा संस्थाको वार्षिकोत्सव नभई नेपालको अटोमोबाइल अर्थतन्त्रले पार गरेको परिवर्तनको प्रतिबिम्बसमेत बनेको छ। ८०१ वटा नयाँ सवारीसाधन दर्ताबाट सुरु भएको यात्रा आज ५५ लाखभन्दा बढी सवारीसाधनको बजारसम्म आइपुगेको छ भने अबको बहस आयातको विस्तारबाट स्वदेशी उत्पादन र औद्योगिक क्षमताको विस्तारतर्फ मोडिन थालेको छ।











प्रतिक्रिया