यसपाली नाडा अटो शोमा गाडीसँगै अटोमोबाइल क्षेत्रको फराकिलो संसार देखिने

नेपालले पछिल्लो समय विद्युतीय तथा पेट्रोलियम सवारीसाधनका नयाँ-नयाँ विकल्पबारे चासो बढाइरहेका बेला आगामी भदौ ९ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ‘१८औँ नाडा अटो शो २०२६’ ले उपभोक्तालाई गाडी मात्र नभई त्यससँग जोडिएको समग्र अटोमोबाइल क्षेत्रबारे जानकारी लिने अवसर दिने भएको छ।

‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ करिब तीन लाख वर्गफिट क्षेत्रमा दुई सयभन्दा बढी स्टलसहित सञ्चालन हुनेछ। प्रदर्शनीमा २३ वटा यात्रुवाहक सवारीसाधन, १७ वटा हल्का व्यावसायिक सवारीसाधन र १३ वटा दुईपाङ्ग्रे सवारीसाधन गरी ५३ वटा सवारी ब्रान्डको सहभागिता रहनेछ।

तर यस वर्षको अटो शोको विशेषता सवारीसाधनको प्रदर्शनमा मात्र सीमित हुने छैन। प्रदर्शनीमा करिब ७० वटा कम्पनीले सवारीसाधन सञ्चालन र मर्मतसँग प्रत्यक्ष रूपमा जोडिएका सामग्री तथा प्रविधि प्रस्तुत गर्नेछन्। ती कम्पनीले टायर, ब्याट्री, इन्जिन तेल, हेल्मेट, बेयरिङ, ग्यास्केट, फिल्टर, सवारी जाँच उपकरण, ग्यारेजका औजार, स्थान पहिचान तथा सवारी निगरानी प्रणाली, विभिन्न सहायक सामग्री र विद्युतीय सवारी चार्जिङ उपकरण प्रदर्शन गर्नेछन्।

त्यसैगरी करिब १० वटा बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीले पनि प्रदर्शनीमा सहभागिता जनाउनेछन्। उनीहरूले सवारी कर्जा, बीमा तथा विद्युतीय सवारीसाधन खरिदका लागि उपलब्ध वित्तीय योजनाबारे जानकारी दिनेछन्।

नाडाका अनुसार उपभोक्ताले गाडी खरिद गर्ने निर्णय गर्दा केवल सवारीसाधनको मूल्य, आकार वा सुविधामा मात्र ध्यान दिने गरे पनि त्यसपछिका वर्षमा मर्मतसम्भार, बीमा, कर्जा, टायर, ब्याट्री, इन्धन तथा चार्जिङजस्ता पक्षसँग निरन्तर जोडिनुपर्ने हुन्छ। त्यसैले यसपटकको प्रदर्शनीलाई सवारी खरिददेखि त्यसको दीर्घकालीन प्रयोगसम्म आवश्यक पर्ने सम्पूर्ण जानकारी एकै स्थानबाट प्राप्त गर्न सकिने गरी व्यवस्थित गरिएको हो।

प्रदर्शनी स्थललाई चारपाङ्ग्रे, दुईपाङ्ग्रे, वित्तीय संस्था, सवारीसाधनका पार्टपुर्जा तथा ग्यारेज उपकरणका लागि छुट्टाछुट्टै क्षेत्रमा विभाजन गरिएको छ। यसले उपभोक्तालाई आफूले रोज्न चाहेको सवारीसाधनसँगै त्यसको कर्जा, बीमा, मर्मतसम्भार र आवश्यक सामग्रीबारे पनि प्रत्यक्ष जानकारी लिन सहज बनाउने अपेक्षा गरिएको छ।

यस वर्षको प्रदर्शनीमा विभिन्न देशका सवारीसाधन निर्माता तथा ब्रान्डको उल्लेख्य सहभागिता रहनेछ। युरोपेली प्रविधिसहितको स्कोडा, मलेसियाको प्रोटोन, चिनियाँ चेरीअन्तर्गतका ओमोडा र जेकु, जिडब्लुएमलगायतका ब्रान्डसँगै जापानी, भारतीय, कोरियाली, चेक, मलेसियाली र चिनियाँ सवारीसाधन एउटै प्रदर्शनीमा देख्न पाइनेछ।

विदेशी कम्पनी तथा व्यवसायीका लागि अन्तर्राष्ट्रिय व्यापार कक्ष तथा स्वदेशी उत्पादन र सवारीसाधन संयोजनलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘नेपालमा बनेका र नेपालका लागि बनेका’ कक्षसमेत स्थापना गरिनेछ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले अटो शोलाई केवल गाडी प्रदर्शन गर्ने कार्यक्रमका रूपमा बुझ्न नहुने बताएका छन्। उनका अनुसार सवारीसाधनलाई वर्षौंसम्म सञ्चालनमा राख्ने पार्टपुर्जा, मर्मतसम्भार, प्रविधि, वित्तीय सेवा तथा विद्युतीय चार्जिङ पूर्वाधारसमेत अटोमोबाइल उद्योगकै महत्वपूर्ण हिस्सा हुन्।

नाडाको पाँच दशक लामो यात्रामा अटोमोबाइल क्षेत्रले ठूलो विस्तार गरेको छ। पाँच दशकअघि नेपालको अटोमोबाइल उद्योगको प्रदर्शनी एउटा कोठाभित्र सीमित हुन सक्ने अवस्थामा रहे पनि अहिले त्यसका लागि करिब तीन लाख वर्गफिट क्षेत्र आवश्यक पर्ने अवस्था आएको छ। नाडाका अनुसार यो विस्तार केवल सवारीसाधनको संख्या बढेको परिणाम नभई त्यससँग जोडिएको समग्र उद्योग, व्यवसाय, प्रविधि र सेवाको विकासका कारण सम्भव भएको हो।

भदौ ९ देखि १४ गतेसम्म सञ्चालन हुने अटो शोले नेपाली उपभोक्तालाई नयाँ सवारीसाधन र प्रविधिसँग परिचित गराउनुका साथै सवारी खरिदपछि आवश्यक पर्ने सेवा, वित्तीय सुविधा, मर्मतसम्भार र पूर्वाधारबारे समेत जानकारी दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार