‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ सुरु : पहिलो दिनमै ४८ नयाँ मोडल सार्वजनिक, २९ हजारबाट अवलोकन

दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्धन गर्ने उद्देश्यका साथ ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मङ्गलवारदेखि औपचारिक रूपमा सुरु भएको छ। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा आयोजित यस दोस्रो संस्करणको उद्घाटन प्रहरी क्लबस्थित ‘ब्लु प्याभिलियन अडिटोरियम हल’ मा विशेष समारोहका बिच गरिएको हो।

आगामी साउन ३१ गतेसम्म सञ्चालन हुने यस एक्स्पोको पहिलो दिनमै उत्साहजनक सहभागिता देखिएको छ। मङ्गलवार मात्रै २९ हजारभन्दा बढी अवलोकनकर्ताले मेलाको भ्रमण गरेका छन् भने मेला अवधिभर करिब डेढ लाख दर्शक भित्र्याउने लक्ष्य आयोजकको छ। एक्स्पोको पहिलो दिन नै विभिन्न ब्रान्डका ४८ वटा नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरिएका छन्। मेलामा नेपालमा पहिलोपटक भित्रिएका ब्रान्डसहित नयाँ प्रविधिका विद्युतीय कार, ई-स्कुटर र व्यावसायिक विद्युतीय सवारीसाधनहरू मुख्य आकर्षणका रूपमा रहेका छन्।

उद्घाटन समारोहमा बोल्दै नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले एक्स्पो केवल गाडी किनबेचको थलो मात्र नभई सम्पूर्ण मोबिलिटी इकोसिस्टमलाई एकै ठाउँमा ल्याउने साझा मञ्च भएको बताइन्। पटक-पटक फेरिने नीतिगत व्यवस्थाका कारण अटो व्यवसायीमा अनिश्चितता बढेको र नयाँ लगानी भित्र्याउन समस्या परेको उल्लेख गर्दै उनले निजी क्षेत्रसँगको छलफलपछि मात्रै नीति परिमार्जन गर्न सरकारलाई आग्रह गरिन्।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रलाई सरकारले विलासिताको नभई आवश्यकताको क्षेत्रका रूपमा लिनुपर्नेमा जोड दिए। नेपालमा विश्वकै सबैभन्दा उच्च भन्सार दर लागू गरिएको बताउँदै उनले विद्युतीय सवारीका लागि स्थिर र दीर्घकालीन नीतिको माग गरे। त्यस्तै, नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले मुलुकको कुल गार्हस्थ्य उत्पादन (GDP) मा करिब ७ प्रतिशत योगदान पुर्‍याउने अटो क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने धारणा राखे।

एक्स्पोलाई केवल गाडी प्रदर्शनीमा मात्र सीमित नराखी वैचारिक मञ्चका रूपमा पनि अघि बढाइएको छ। पहिलो दिन ‘वैदेशिक प्रत्यक्ष लगानी (FDI) र आर्थिक समृद्धि’ विषयक प्यानल छलफल आयोजना गरियो, जसमा ३ सयभन्दा बढीको सहभागिता थियो। पूर्वबैंकर अनिलकेशरी शाहले सहजीकरण गरेको उक्त सत्रमा राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. सत्येन्द्र तिमिल्सिना, डोल्मा फाउन्डेसनका अध्यक्ष टिम गोचर, नबिल बैंकका सीईओ मनोज ज्ञवाली र नाइमा अध्यक्ष वैद्यले धारणा राखेका थिए। साथै, ग्रान्डी अस्पतालका तर्फबाट सडक दुर्घटनापछिको प्राथमिक उपचार सम्बन्धी विशेष प्रयोगात्मक प्रस्तुतिसमेत दिइएको थियो।

६ दिनसम्म चल्ने यस एक्स्पोमा बैंक, वित्तीय संस्था र बिमा कम्पनीहरूले सवारी खरिदका लागि विशेष अफर र सहुलियत कर्जा उपलब्ध गराइरहेका छन्। ग्लोबल आइएमई बैंक को-स्पोन्सर रहेको एक्स्पोमा एनएमबी, सिद्धार्थ बैंक, सगरमाथा लुम्बिनी, एनएलजी इन्स्योरेन्स, पठाओ, वल्र्डलिंक लगायत बहुविध क्षेत्रका व्यावसायिक संस्थाहरूले साझेदारी गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार