विद्यालय तहको शिक्षण सेवामा साढे तीन दशक बिताएका अनुभवी शिक्षक गोविन्द लुइँटेलको शिक्षण अनुभवसम्बन्धी निबन्धात्मक कृति ‘कक्षाकोठामा ३५ वर्ष’ पाठकहरूमाझ आएको छ।
‘ओरिएन्टल पब्लिकेशन’ द्वारा प्रकाशित यो कृतिमा विद्यालयका कक्षाकोठाको यथार्थ, शिक्षणका चुनौती, शिक्षणको गुणस्तर, शिक्षक–विद्यार्थी सम्बन्ध, शिक्षक–अभिभावक सम्बन्ध, शिक्षकप्रति शिक्षाप्रशासक र नीतिनिर्माताहरूको नजर लगायतका कुरा अनुभवको आधारमा प्रस्तुत गरिएको छ।
यो कृतिमा शिक्षाको कुनै सिद्धान्त र दर्शनको व्याख्या वा विश्लेषण छैन, केवल शिक्षणको सिलसिलाका भोगाइ छ, अनुभव छ। लेखकले विद्यार्थीहरू शिक्षकसँग के चाहन्छन्, शिक्षकले विद्यार्थी र अभिभावकका कुनकुन पक्षमा ध्यान दिनुपर्छ, विद्यार्थीसँग व्यक्तिगतरूपमा र कक्षाकोठामा सामूहिक रूपमा कसरी प्रस्तुत हुनुपर्छ भन्ने कुरा आफ्नो अनुभवकका आधारमा प्रस्तुत गरेका छन्।
उनले शिक्षणका क्रममा, शिक्षण–सिकाइका क्रममा आफूबाट भएका कमीकमजोरी र गल्ती सहजढंगले स्वीकार गरेका छन्। उनले जस्ता कमीकमजोरी र गल्ती उल्लेख गरेका छन् ती सामान्यतया सबै शिक्षकबाट जानीनजानी हुने किसिमकै हुन्। यस दृष्टिले पनि शिक्षकका लागि यो कृति निकै उपयोगी रहेको मान्न सकिन्छ।
लुइँटेल शिक्षकमात्र होइनन्। उनी पत्रकारका रूपमा पनि सुपरिचित छन्। उनले हिमालय टाइम्स दैनिकमा दुई चरणमा १८ वर्ष काम गरे। यसमध्ये १० वर्ष सम्पादक रहे। उनले अनलाइन पत्रिका सेतोपाटीमा ‘कन्सल्टिङ एडिटर’ का रूपमा चार वर्ष र खबरहबमा दुई वर्ष प्रधान सम्पादकका रूपमा काम गरे। यसअघि उनले टेलिभिजन र साप्ताहिक पत्रिकामा पनि काम गरे।
यसरी शिक्षण र सञ्चार दुवैतिर समानान्तर कर्म गरेका लुइँटेलले ३५ वर्षको शिक्षण अनुभव जीवन्त ढंगले प्रस्तुत गरेका छन्। यो कृति अनलाइन पत्रिका सेतोपाटीमा शृङ्खलाबद्धरूपमा प्रकाशित २१ वटा आलेखहरूको संग्रह हो। ती आलेख परिमर्जनसहित पुस्तक तयार गरेको लेखकले जनाएका छन्।
पुस्तकमा विद्यार्थीका जिज्ञासु प्रश्न, कक्षाकोठामा हुने दैनिक गतिविधि; गणित, विज्ञान, नेपाली भाषा र अन्य विषयमा शिक्षणका अनुभव; शिक्षकका मनोभाव तथा विद्यालय व्यवस्थापनसँग जोडिएका विषय सरल र रोचक शैलीमा प्रस्तुत गरिएको छ। पुस्तकमा सार्वजनिक र निजी विद्यालयबीचको अवस्था, सरकारी विद्यालयमा देखिएका चुनौती तथा शिक्षा सुधारका सम्भावित उपायबारे पनि अनुभवजन्य धारणा प्रस्तुत गरिएको छ।
सरकारी विद्यालयको शिक्षा शिक्षककै कारणले कमजोर भएको हो कि अन्य कारण पनि छन्? निजी विद्यालय कसरी परीक्षामा उत्कृष्ट नतिजा निकाल्छन्? पुस्तकमा यी दुई प्रश्नमा निकै गहन चर्चा छ । लेखकले गुणस्तरीय शिक्षाका लागि शिक्षक मात्र नभई नीतिनिर्माता, शिक्षा प्रशासन, विद्यार्थी, अभिभावक र प्रधानाध्यापकको समान जिम्मेवारी आवश्यक रहेको धारणा अभिव्यक्त छ।
पुस्तकको अर्को विशेष पक्ष यसको सामाजिक उत्तरदायित्व हो। पुस्तक बिक्रीबाट प्राप्त हुने कुल आम्दानीको ५० प्रतिशत रकम ‘कृष्ण–बिन्दा शिक्षा कोष’ मा जम्मा गर्ने र शिक्षासेवामा खर्च गर्ने कुरा पुस्तकमै उल्लेख गरिएको छ।

नेपालका शिद्यालयको शिक्षण, शिक्षकको मनोभाव, विद्यार्थीका आकांक्षा, शिक्षा प्रशासक र नीतिनिर्माताप्रति शिक्षकको नजर; विद्यालय उत्कृष्ट बनाउन शिक्षक र समाजको भूमिका लागयतका विषयमा शिक्षकको अनुभव र धारणा थाहा पाउन यो कृति निकै उपयोगी रहेको छ।
पत्रकारिता क्षेत्रमा कुशल भाषासम्पादकका रूपमा परिचित लुइँटेलको यो कृति अभिव्यक्ति शैलीका दृष्टिले निकै उत्कृष्ट छ। शिक्षकका रूपममा लेखकको आफ्नै अनुभव भए पनि उनले ‘म’ लेख्नुको साटो ‘ऊ’ पात्र अघि सारेका छन्। ‘ऊ’ पात्र एक शिक्षक हो। लेखकले त्यही ‘ऊ’ को कथा बनाएर आफूलाई प्रस्तुत गरेका छन्। आफ्नै अनुभव अभिव्यक्त गर्न उनले प्रयोग गरेको तृतीय पुरुष शैली निकै रोकच छ। लेखाइमा कुनै जटिलता छैन। वाक्य संरचना सहज छ।
यो कृति कार्यरत शिक्षक, भविष्यका शिक्षक शिक्षाका नीतिनिर्माता र शिक्षा प्रशासकहरूका लागि निकै उपयोगी छ।








प्रतिक्रिया