नेपाल टेलिकमः आधुनिक सञ्चारको आधार र राष्ट्र निर्माणमा योगदान

नेपालको सञ्चार क्षेत्रको इतिहासमा नेपाल टेलिकम (एनटिसी) केवल एक सेवा प्रदायक संस्था मात्र नभई देशको सामाजिक, आर्थिक र प्राविधिक विकासको एउटा बलियो आधारस्तम्भ हो । ५० वर्षे इतिहास बोकेको संस्थाले मुलुकको दुर्गम हिमाली बस्तीदेखि आधुनिक सहरी क्षेत्रसम्म सञ्चारको पहुँच विस्तार गर्दै ‘डिजिटल नेपाल’को सपनालाई साकार पार्न अहम् भूमिका निर्वाह गरिरहेको छ ।

टेलिकमले समयको माग र प्रविधिको विकाससँगै आफ्ना सेवाहरूलाई निरन्तर परिष्कृत गर्दै लगेको छ । यसले जीएसएम प्रविधिमार्फत देशभर मोबाइल सेवा उपलब्ध गराएको छ भने फोरजी र फाइभजी परीक्षणमार्फत उच्च गतिको इन्टरनेट सेवा प्रदान गर्दै नागरिकको दैनिक जीवनलाई सहज बनाएको छ ।

यस्तै ल्यान्डलाइन टेलिफोन सेवादेखि अत्याधुनिक ‘फाइबर टु द होम’ प्रविधिमार्फत उच्च गतिको इन्टरनेट र आईपीटीभी सेवाले घरायसी र व्यावसायिक क्षेत्रमा ठूलो परिवर्तन ल्याएको छ । विभिन्न डेटा प्याकहरू, एसएमएस सेवा, र मोबाइल बैंकिङमा सहज पहुँचले गर्दा टेलिकमको सञ्जालले वित्तीय समावेशीकरणमा समेत उल्लेख्य योगदान पुर्‍याएको छ।

यतिमात्र नभई सरकारी कार्यालय, बैंक र ठूला व्यावसायिक संस्थाहरूलाई समर्पित लिज्ड लाइन र इन्ट्रानेट सेवामार्फत संस्थागत कार्यसम्पादनमा टेलिकमले विशेष योगदान दिँदै आएको छ ।

यस्तै नेपाल टेलिकमको योगदान केवल सञ्चार सुविधामा मात्र सीमित छैन । यसले राष्ट्र निर्माणमा बहुआयामिक भूमिका निर्वाह गरेको छ । यसको प्रयोगले गर्दा नै आज ई–कमर्स, अनलाइन भुक्तानी र डिजिटल बैंकिङ सेवाहरू गाउँ–गाउँसम्म पुग्न सकेका छन् । यसले व्यापारिक कारोबारमा पारदर्शिता ल्याउनुका साथै राजस्व वृद्धिमा समेत प्रत्यक्ष योगदान पुर्‍याएको छ ।

साथै, सरकारको नीति अनुरुप सूचनाको हक सुनिश्चित गर्न टेलिकमले विकट र दुर्गम भौगोलिक क्षेत्रहरूमा समेत सेवा पुर्‍याएको छ । सञ्चार सुविधा नभएका स्थानहरूमा टावर स्थापना गरेर राष्ट्रको मूलप्रवाहबाट बाहिर रहेका नागरिकलाई जोड्ने कार्य गरेको छ । त्यस्तै प्राकृतिक विपद् होस् वा स्वास्थ्य संकट, टेलिकमको सञ्जाल सधैं भरोसायोग्य बनेको छ । भूकम्प, बाढी(पहिरो जस्ता कठिन समयमा राहत तथा उद्धार कार्यमा समन्वय गर्न टेलिकमले खेलेको भूमिका अतुलनीय छ । यसले देशको सुरक्षा संयन्त्रलाई समेत मजबुत बनाउन मद्दत गरेको छ।

नेपाल टेलिकम देशको सबैभन्दा बढी कर तिर्ने संस्थाहरूमध्ये एक हो । यसले आर्जन गरेको नाफा सरकारको ढुकुटीमा जम्मा हुँदा देशका विभिन्न विकास निर्माणका परियोजनाहरू सञ्चालन गर्न ठूलो आर्थिक सहयोग पुगेको छ ।

अतः टेलिकम नेपाली जनजीवनको अभिन्न अङ्ग बनिसकेको छ । प्रविधिको तीव्र प्रतिस्पर्धाकाबीच पनि आफ्ना सेवाहरूलाई सर्वसुलभ र भरपर्दो बनाउनु टेलिकमका लागि चुनौती र अवसर दुवै बनेको छ । आगामी दिनमा फाइभजीको पूर्ण कार्यान्वयन र अत्याधुनिक प्रविधिमा फड्को मार्न सके, नेपाल टेलिकमले नेपाललाई विश्वका विकसित देशहरूसँग जोड्न अझ सशक्त भूमिका खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार