नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरीबीच दीर्घकालीन एवं रचनात्मक सहकार्यमा छलफल

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच उपत्यकाको ट्राफिक व्यवस्थापनमा सहकार्य गर्ने विषयमा छलफल भएको छ। सोमबार नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले नवनियुक्त ट्राफिक प्रमुख सुरेशप्रसाद काफ्लेसँग भेटवार्ता गर्दै सहकार्यका विविध पक्षबारे छलफल गरेको हो ।

छलफलका क्रममा ट्राफिक प्रमुख काफ्लेले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित र सुरक्षित बनाउन नाडासँग दीर्घकालीन र रचनात्मक सहकार्य आवश्यक रहेको औंल्याए । उनले बढ्दो सहरी ट्राफिक समस्याप्रति चिन्ता व्यक्त गर्दै ठूला क्षमताका मोटरसाइकलको अव्यवस्थित प्रयोग र दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

विशेषगरी प्रविधिको प्रयोगमा जोड दिँदै ट्राफिक प्रमुख काफ्लेले एआई प्रविधियुक्त ट्राफिक लाइट व्यवस्थापनका लागि पहल गर्न नाडालाई आग्रह गरे । साथै, सवारी साधन खरिदकर्ता, सर्भिस सेन्टरका ग्राहक र पहिलोपटक लाइसेन्स लिने व्यक्तिहरूका लागि ट्राफिक प्रहरी कार्यालयबाट कम्तीमा एक घण्टाको संक्षिप्त प्रशिक्षण लिने व्यवस्था गर्न सके ट्राफिक व्यवस्थापनमा सुधार आउने उनले विश्वास व्यक्त गरे ।

भेटमा नाडाका अध्यक्ष उप्रेतीले ट्राफिक प्रहरीसँग विगतदेखि रहँदै आएको सहकार्यको प्रसंग उल्लेख गर्दै आगामी दिनमा त्यसलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष उप्रेतीले नाडाले आफ्नो ५०औं वार्षिक साधारण सभा तथा स्वर्ण महोत्सवका अवसरमा आगामी असार १३ गतेदेखि १९ गतेसम्म साताव्यापी विशेष कार्यक्रमहरू आयोजना गर्न लागेको जानकारी दिए । उक्त कार्यक्रमलाई भव्य र प्रभावकारी बनाउन ट्राफिक प्रहरीको महत्वपूर्ण साथ र सहयोग रहने अपेक्षा राख्दै उनले ट्राफिक सचेतनाका लागि स्टिकरमार्फत जनचेतनामूलक अभियान सञ्चालन गरिने जानकारी गराए ।

छलफलमा नाडाका महासचिव मिलनबाबु मल्लले संस्थागत सहकार्यको निरन्तरतामा जोड दिए । उक्त भेटवार्तामा नाडाका उपाध्यक्ष विक्रम सिंहानिया, सचिव मेघराज पौडेल र कोषाध्यक्ष पंकज अग्रवालको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार