उर्जा उत्पादकहरुको छाता संगठन स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को अध्यक्षमा मोहनकुमार डाँगी चयन भएका छन् । यसअघि वरिष्ठ उपाध्यक्ष रहेका डाँगी विधानअनुसार स्वतः अध्यक्ष भएका छन् भने कोषाध्यक्ष बाहेक अन्य पदमा निर्विरोध निर्वाचित भएका हुन् ।
राजधानीमा शुक्रबार भएको इप्पानको २४औँ वार्षिक साधारणसभाबाट संस्थाको आगामी कार्यकालका लागि नयाँ कार्यसमिति पनि चयन गरिएको छ । साधारणसभाले वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन लामालाई निर्विरोध निर्वाचित गरेको छ। वरिष्ठ उपाध्यक्ष पदका अर्का उम्मेदवार बलराम खतिवडाले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि लामा निर्विरोध चयन भएका हुन् ।
वरिष्ठ उपाध्यक्षसहित अन्य पदहरुमा भ्लोन र खतिवडा प्यानालसहित चुनावी प्रतिस्पर्धामा थिए । तर, अन्तिममा खतिवडा पक्ष र लामा पक्षबीच सहमति भएको थियो ।
त्यस्तै कार्यसमितिको अन्य उपाध्यक्षहरूमा उत्तरकुमार श्रेष्ठ, नरेन्द्र बल्लभ पन्त, विक्रम विष्ट, सुसन कर्माचार्य र हिमप्रसाद पाठक चयन भएका छन् । त्यसैगरी, महासचिवको जिम्मेवारी टेकनाथ आचार्य (टीएन आचार्य) ले पाएका छन् छ भने उपमहासचिवमा कविता पोखरेल चयन भएकी छन् ।
यसैगरी सचिव पदमा अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, कुवेरमणि नेपाल, विजयमोहन भट्टराई र सुमनकुमारी जोशी निर्विरोध निर्वाचित भएका छन् ।
साधारणसभामा कोषाध्यक्ष पदका लागि भने निर्वाचन भएको थियो । उक्त प्रतिस्पर्धामा भ्लोन प्यानलका शंकर बस्याल २६७ मत प्राप्त गर्दै विजयी भए । उनका प्रतिस्पर्धी मिथुन चक्रवर्ती प्रसाद पौडेलले ८२ मत प्राप्त गरे ।
यसैगरी, खुला सदस्यतर्फ अनुप आचार्य, कदम केसी, जगदीश शिवाकोटी, जगतबहादुर पोखरेल, नारायण कँडेल, मिलन खड्का र वर्णन लामिछाने निर्विरोध चयन भएका छन् । कोषाध्यक्ष पद बाहेक अन्य सबै पदमा सर्वसम्मत नेतृत्व चयन भएको हो ।
नयाँ कार्यसमितिको चयन भएसँगै इप्पानले ऊर्जा क्षेत्रका समस्या समाधान र विकासका लागि नयाँ ऊर्जाका साथ सबै सरोकारवाला र सदस्यहरुलाई साथमा लिएर अघि बढ्ने अध्यक्ष डाँगीले प्रतिवद्धता व्यक्त गरेका छन् ।





प्रतिक्रिया