सर्वोत्तम पेन्ट्सको आईपीओ सर्वसाधारणका लागि खुला, कहिलेसम्म दिने आवेदन ?

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर वितरण गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर निष्कासन खुला गरेको हो।

कम्पनीले सर्वसाधारणका लागि ७ करोड ५ लाख ५० हजार रुपैयाँ बराबरको ७ लाख ५ हजार ५०० कित्ता सेयर छुट्याएको छ। लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने यसका लागि असार २ गतेसम्मको समय तोकिएको छ।

कम्पनीले कुल जारी पुँजी ३४ करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने ८ लाख ५० हजार कित्ता सेयर बिक्रीको अनुमति पाएको थियो। यसअघि नै कर्मचारी, सामूहिक लगानी कोष र वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि सेयर बाँडफाँड भइसकेको छ। यस आईपीओको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

वित्तीय विवरण अनुसार, कम्पनीको प्रतिसेयर आम्दानी ६.२४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११६.४१ रुपैयाँ र सञ्चित नाफा ४ करोड १८ लाख रुपैयाँ रहेको छ। साथै, केयर रेटिङ्स नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ, जसले वित्तीय दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।

कैलालीको गोदावरीमा रजिष्टर्ड कार्यालय रहेको यस कम्पनीले घर, पर्खाल, झ्याल-ढोका, धातु, काठ तथा प्लाष्टिकजन्य वस्तुमा प्रयोग हुने रङ तथा प्राइमरहरूको उत्पादन र बिक्री वितरण गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार