वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिकबहादुर खत्री र महासचिवमा हरि डाँगी विजयी

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनबाट डिकबहादुर खत्री अध्यक्षमा निर्वाचित भएका छन् ।

मत परिणामअनुसार अध्यक्ष पदमा खत्रीले ३४७ मत प्राप्त गर्दै विजय हासिल गरे भने उनका निकतम प्रतिश्पर्धी उम्मेदवार मेघनाथ भुर्तेलले १९२ मत प्राप्त गरे । त्यस्तै अर्का अध्यक्षका उम्मेदवार हरिबहादुर पाण्डे क्षेत्रीले १७० मत प्राप्त गरे ।

निर्वाचन परिणामअनुसार प्रथम उपाध्यक्षमा महेश कुमार बस्नेत विजयी भए । उनले २४१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कर्णराज कटुवालले २३१ मत प्राप्त गरे । द्वितीय उपाध्यक्षमा अनिल बोगटी ३१५ मतसहित निर्वाचित भए भने तृतीय उपाध्यक्षमा लक्ष्मण पौडेल २५९ मतसहित विजयी भए।

त्यसैगरी महासचिव पदमा हिरा बहादुर डाँगी (हरि) २७३ मतसहित निर्वाचित भए। सचिव पदमा केदारनाथ अधिकारी २९४ मत प्राप्त गर्दै विजयी भए भने कोषाध्यक्षमा धनमाया सिन्जाली ३२३ मतसहित निर्वाचित भइन् ।

यस्तै सदस्यहरुमा रमा खड्का, विवश ढुंगाना, ध्रुव जी.सी., तारामणि राई, तारा तामाङ, रविन्द्र राई, भावना गजुरेल, गीता राउत र दीक्षा दाहाल निर्वाचित भए ।

निर्वाचनको अन्तिम परिणामले प्रगतिशील–संयुक्त व्यवसायी गठबन्धनको स्पष्ट वर्चस्व देखाएको छ। १७ सदस्यीय कार्यसमितिमा सात पदाधिकारीमध्ये छ जना गठबन्धनका उम्मेदवार विजयी भएका छन् भने १० सदस्यीय कार्यसमितिमा आठ सदस्य उनीहरूकै पक्षबाट निर्वाचित भए ।

खत्रीले नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च र कांग्रेस निकट व्यवसायी समूहको संयुक्त प्यानल निर्माण गरेका थिए । त्यस्तै भुर्तेलले नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनबाट प्यानल बनाएका थिए । अर्का अध्यक्षका उम्मेदवार पाण्डेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट रहेरस्वतन्त्र वैदेशिक रोजगार व्यवसायी समूहबाट प्यानल बनाई निर्वाचनमा होमिएका थिए ।

यद्यपि लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले पनि उपाध्यक्ष जितेको छ। एसोसिएसनका तर्फबाट तृतीय उपाध्यक्षमा लक्ष्मण पौडेल तथा सदस्य पदमा गीता राउत र दीक्षा दाहाल विजय हासिल गरे ।

अधिकांश पदाधिकारी र सदस्यले राजिनामा दिएपछि निवर्तमान कार्यसमिति विघटन गरी अध्यक्ष भुवनसिंह गुरुङलाई कार्यकाल बाँकी रहँदै नेतृत्वबाट हटाएर संघकाको विशेष साधारणसभा तथा निर्वाचन गरिएको हो ।

नवनिर्वाचित अध्यक्ष डिकबहादुर खत्रीले व्यवसायीहरूको विश्वासलाई सम्मान गर्दै संघलाई एकताबद्ध बनाउने, व्यवसायीका समस्या समाधानका लागि सरकारसँग प्रभावकारी संवाद गर्ने तथा वैदेशिक रोजगार क्षेत्रको गरिमा र व्यवसायीको अधिकार संरक्षणका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार