वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ नेतृत्वको कार्यसमिति भंग, विशेष साधारणसभा आह्वान गर्न प्रशासनको पत्र

वैदेशिक रोजगार व्यवसायीहरुको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघको कार्यसमिति भंग भएको छ । संघको विधानमा व्यवस्था भए अनुसार कार्यसमितिका बहुमत पदाधिकारीले दिएको राजीनामाका कारण भुवन सिं गुरुङको नेतृत्वमा रहेको वर्तामान कार्यसमिति भंग भएको हो ।

अध्यक्ष  गुरुङको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै विधान बमोजिम कार्यसमितिका बहुमत पदाधिकारीले राजीनामा दिएका थिए ।

जिल्ला प्रशासन कार्यालय (जिप्रका) काठमाडौंले संघको विधानको व्यवस्था अनुसार वर्तमान कार्यसमिति स्वतः विघटन भएको जनाउँदै सल्लाहकार समितिले गठन गरेको प्रबन्ध समितिले नै थप प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।

प्रशासनले संघलाई ‘निर्देशन सहित पुनः पत्राचार गरिएको’ सम्बन्धमा पत्र लेख्दै कार्यसमितिका बहुमत पदाधिकारीले दिएको राजीनामाका कारण कार्यसमिति भंग भएको उल्लेख गरेको छ ।

राजीनामापत्रहरू जाँचबुझ गर्दा संघको विधानको दफा २ (९) को पदाधिकारी सम्बन्धी व्याख्या बमोजिम राजीनामा दिने पदाधिकारीको संख्या दुई तिहाइ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कार्यसमिति विघटन भएपछि संघको विधानमा भएको व्यवस्था अनुसार नै सल्लाहकार समितिको निर्णयबाट ‘प्रबन्ध समिति’ गठन गरिएको थियो । प्रबन्ध समिति गठनको कार्य विधानतः मिलेकै देखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कार्यालयले उक्त प्रबन्ध समितिलाई संघको विशेष साधारणसभा आह्वान गरी विधानको व्यवस्था कार्यान्वयन गर्ने गरी प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।

यसअघि नै सुरु भइसकेको यो प्रक्रियालाई निरन्तर अघि बढाउन र प्रबन्ध समितिले गर्ने कार्य, निर्णय तथा सम्बद्ध विषयमा कार्यालयलाई लिखित रूपमा अद्यावधिक जानकारी गराउन समेत भनिएको छ ।

प्रशासनले यो कार्यप्रक्रियामा कसैले पनि बाधा व्यवधान सिर्जना नगर्न र नगराउन सचेत गराएको छ । यदि कसैले निर्देशन विपरीत कार्य गरेको पाइए तत्काल जिल्ला प्रशासन कार्यालयलाई सूचना दिन समेत पत्रमार्फत आग्रह गरिएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार