नबिल बैंकको ‘एनबैंक’ एपमार्फत वित्तीय सुविधा विस्तार, मोबाइबाटै ‘एसआईपी’मा दर्ता हुन र किस्ता भुक्तानी गर्न सकिने

नबिल बैंकले आफ्नो बैंकिङ एप ‘एनबैंक’मा ‘लगानी’ सम्बन्धी सेवा विस्तार गरेको छ । लगानी सेवालाई अझ सहज, सुरक्षित र डिजिटल माध्यमबाट पहुँचयोग्य बनाउने उद्देश्यले उक्त सेवा सुरु गरिएको बैंकले जनाएको छ ।

यही वैशाख ३१ गते बैंक र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडबीच भएको समझदारीसँगै यो सुविधा सुरु भएको बताइएको छ । समझदारी पत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईं र बैंकिङको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।

एउटै प्लेटफर्मबाट सम्पूर्ण वित्तीय सुविधा उपलब्ध गराउने उद्देश्यले एनबैंकमार्फत उक्त सेवा सुरु गरिएको बैंकले जनाएको छ । एकीकृत लगानी सेवा सुरु भएसँगै ग्राहकले अब ‘सिस्टेम्याटिक इन्भेस्टमेन्ट प्लान’ (एसआईपी)मा दर्ता हुन र किस्ता भुक्तानी गर्ने काम मोबाइबाटै गर्न सकिने छ ।

एनबैंकका प्रयोगकर्ताले एनबैंकको होमपेजमा गई ‘इन्भेस्टमेन्ट, एसआइपी, टीएमएस’ आइकनमा क्लिक गरी एसआईपीमा दर्ता हुन र भुक्तानी गर्न सक्नेछन् । यस सुविधा प्रयोग गर्दा अतिरिक्त शुल्क नलाग्ने बैंकले जनाएको छ ।

‘ग्राहकलाई लगानी गर्नका लागि सरल, पहुँचयोग्य र पूर्ण रूपमा डिजिटल सेवा प्रदान गर्नु नै बैंकको उद्देश्य हो’ बैंकका नायब प्रमुख बजगाईंले भने । ‘एनबैंकमा यो सुविधा थपिएसँगै ग्राहकलाई लगानीतर्फ आकर्षित गर्ने विश्वास लिएका छौं ।’

उक्त सेवामार्फत विदेशमा रहेका नेपालीले पनि नेपालको वित्तीय बजारमा सहज रूपमा सहभागी हुन र आर्थिक रूपमा जोडिन पाउने बैंकको भनाइ छ । विस्तारित सुविधासँगै एनबैंकले आफ्ना डिजिटल सेवालाई निरन्तर सुधार गर्दै सेवाग्राहीलाई एकीकृत प्लेटफर्ममार्फत वित्तीय सेवा थप विस्तार गर्दै लैजाने बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार