इक्यान केन्द्रीय कोषाध्यक्षमा उमा खड्काको उम्मेदवारी घोषणा

यही पुस २८ गते हुने गरी चुनावी कार्यतालिका सार्वजनिक भएसँगै नेपाल शैक्षिक परामर्श संघ (इक्यान)मा यतिवेला चुनावी सरगर्मी छाएको छ । इक्यानको वर्तमान कार्यसमितमा रहेका पदाधिकारी एवं सदस्यहरुले आगामी कार्यकालको लागि विभिन्न पदमा उम्मेदवारी घोषणा गर्न थालेका छन् ।

यसै क्रममा वर्तमान इक्यान कार्यसमिति सदस्यको जिम्मेवारीमा रहेर कुशलतापूर्वक कार्य सम्पादन गर्न सफल भएकी उमा खड्का पाठकले आगामी कार्यसमितिका लागि औपचारिक रुपमै कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन् ।

उनले भनेकी छन्– ‘यही पौष २८ गते सम्पन्न हुने इक्यानको केन्द्रीय निर्वाचनमा आगामी कार्यकालका लागि केन्द्रीय कोषाध्यक्ष पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गर्दछु ।’

उनले उम्मेदवारी घोषणा गरेसँगै नेपालमा शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित, मर्यादित र दीर्घकालीन रूपमा सशक्त बनाउने साझा अभियानमा विगत लामो समयदेखि निरन्तर रूपमा क्रियाशील रहेको उल्लेख गरेकी छन् ।

खड्काले शैक्षिक परामर्श व्यवसायमा प्रत्यक्ष संलग्न रहँदै एक कार्यकाल कार्यसमिति सदस्यको रूपमा काम गरेको अनुभवका साथै सिएसआर विभाग र युएसए डिपार्टको जिम्मेवारी सम्हाल्दै संस्थागत सुदृढीकरण, सामाजिक उत्तरदायित्व, क्षमता विकास र आर्थिक अनुशासनमा सक्रिय योगदान पुर्‍याउँदै आएको आम इक्यानियनहरुलाई जानकारी दिएकी छन् ।

आफुले पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सक्षम रहेको उल्लेख गर्दै उनले आगामी कार्यकालको लागि कोषाध्यक्षमा निर्वाचित भए इक्यानको आर्थिक व्यवस्थापनलाई अझ पारदर्शी, उत्तरदायी र अझ प्रणालीगत बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

‘संस्थाको आम्दानी–खर्चलाई स्पष्ट र नियमित रूपमा सदस्यहरूसमक्ष प्रस्तुत गर्ने, आर्थिक निर्णयहरूलाई नीतिगत र दीर्घकालीन सोचमा आधारित बनाउने तथा इक्यानलाई आर्थिक रूपमा आत्मनिर्भर र सबल संस्थाको रूपमा अगाडि बढाउने मेरो मुख्य प्राथमिकता हुनेछ,’ उनले भनिन् ।

खड्काले इक्यानको केन्द्र र शाखाहरूबीच आर्थिक समन्वय मजबुत बनाउने, सदस्य–मैत्री आर्थिक नीति विकास गर्ने, संस्थागत कार्यक्रमलाई विस्तार गर्ने र उपलब्ध स्रोतसाधनलाई ७०० भन्दा बढी सदस्यहरूको हितमा अधिकतम उपयोग हुने गरी परिचालन गर्ने दृढ अठोट लिएकी छन् ।

खड्काले इक्यानलाई केवल आर्थिक रूपमा मात्र नभई विश्वसनीय, अनुशासित र सुशासनयुक्त सक्षम संस्था बनाउने लक्ष्यका साथ सम्पूर्ण कार्यसमिति तथा आम सदस्यसँग सहकार्य गर्दै जिम्मेवारीपूर्वक काम गर्ने बताएकी छन् ।

उनले आगामी कार्यकालको लागि कोषाध्यक्षको जिम्मेवारी निर्वाह गर्न सक्षम रहेको भन्दै सम्पूर्ण इक्यानियनलाई आफुमाथि विश्वास गर्न आग्रह गर्दै साथ, सहयोग र अमूल्य मत प्रदान गर्न अपिल गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार