नेपाल मेडिसिटी अस्पतालले रसुवा र नुवाकोटका बाढी तथा पहिरो प्रभावित नागरिकलाई निःशुल्क आकस्मिक उपचारसहित आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गरेको छ।
विपद्का कारण प्रभावित परिवारले स्वास्थ्य उपचारमा समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले अस्पतालले आफ्नो क्षमताअनुसार निःशुल्क आकस्मिक उपचार तथा आवश्यक स्वास्थ्य सेवाको सहजीकरण गर्ने जनाएको हो। कठिन परिस्थितिमा प्रभावित समुदायलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पतालका सेवा खुला रहने मेडिसिटीले जनाएको छ।
अस्पतालले प्रभावित क्षेत्रमै स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारीसमेत गरेको छ। शिविरमार्फत प्रभावित नागरिकको स्वास्थ्य परीक्षण, चिकित्सकीय परामर्श तथा प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराइनेछ। अस्पतालले स्वास्थ्य तथा चिकित्सा सामग्रीसहित खाद्यान्न, अत्यावश्यक सामग्री, लत्ताकपडा, सरसफाइका सामग्री र दैनिक प्रयोगमा आवश्यक वस्तु संकलन गरी प्रभावित परिवारसम्म पुर्याउने तयारी गरेको जनाएको छ।
अभियानबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भारतीय अभिनेता तथा मानवतावादी व्यक्तित्व सोनु सूदको समेत सहभागिता थियो। उनले विपद्का बेला सबै पक्ष एकजुट भएर प्रभावित समुदायको सहयोगमा जुट्नुपर्नेमा जोड दिए। नेपालका बाढी तथा पहिरो प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै समयमै राहत तथा मानवीय सहयोग पुर्याउनु सबैको साझा जिम्मेवारी भएको उनको भनाइ थियो।
नेपाल मेडिसिटीका प्रमुख कार्यकारी अधिकृत डा. अमित तोमरले विपद्को समयमा प्रभावित समुदायलाई सहयोग गर्न अस्पताल र कर्मचारीहरू एकजुट भएको बताए। अस्पतालले राहत तथा स्वास्थ्य सामग्री संकलन गरिरहेको र आवश्यक तयारी पूरा गरी प्रभावित क्षेत्रमा पुगेर स्वास्थ्य सेवा तथा अन्य सहयोग उपलब्ध गराउने काम अघि बढाइरहेको उनले जानकारी दिए।
उनले विपद्का बेला प्रभावित नागरिकलाई सहानुभूति मात्र नभई व्यवहारिक सहयोग आवश्यक हुने बताए। अस्पतालको जिम्मेवारी अस्पताल परिसरमा आउने बिरामीको उपचारमा मात्र सीमित नरहेको उल्लेख गर्दै आवश्यक परेको समयमा समुदायमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउनु पनि सामाजिक दायित्व भएको उनको भनाइ थियो।
नेपाल मेडिसिटीले रसुवा र नुवाकोटका बाढी तथा पहिरो प्रभावित समुदायलाई लक्षित गरी राहत, स्वास्थ्य सेवा र मानवीय सहयोगको अभियानलाई निरन्तरता दिने जनाएको छ।










प्रतिक्रिया